राजनीतिमा लागेका बुध्द एयरका मालिक बस्नेतले देखाए नेपालबाट ३६९ सिटको वाइडबडी उडानको भिजन

यस्तो छ काठमाडौंभन्दा भैरहवालाई व्यस्त बनाउने आधार

1.1k
Shares

काठमाडौं । बुध्द एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले एयरबसका ३६९ सिट क्षमताको ए–३५०–१००० कलसाइनको वाइडबडी जहाज भैरहवाबाट चलाउन सकिने आधार प्रस्तुत गरेका छन् ।

गतिशील लोकतान्त्रिक पार्टीसँग जोडेर पर्यटन क्षेत्रको विकास गर्ने भिजन सार्वजनिक गर्दै बस्नेतले १० वर्षमा नेपालको पर्यटनलाई कायापलट गर्न सकिने उल्लेख गरे ।

बस्नेत करिब तीन दशकदेखि हवाई उड्डयन क्षेत्रमा क्रियाशील छन् र त्यसैबाट प्राप्त अनुभवलाई पार्टीमार्फत अगाडि बढाउन सकिने आधार देखाएका हुन् ।

बस्नेतले देखाएको यस्तो पर्यटन विकासमा नेपालसँग अन्तर्राष्ट्रिय उडानका जहाजकै कमी भएको र त्यसका लागि आफूले १० वर्षसम्मको पर्यटन सपनालाई ‘नेपाल पर्यटन दृष्टि–२०३५’ बनाएर सार्वजनिक गरेका हुन् । उनकै हवाई उड्डयनको विज्ञता नै गतिशील पार्टीको अवधारणाको रूपमा प्रस्तुत गरिएको छ ।

बस्नेतले नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमलाई पुनःसंरचना गरेर आधुनिक, दीगो र नाफामूलक हवाई सेवा प्रदायकका रूपमा विकास गर्ने बताएका छन् । यसबाट निगमको स्वामित्वमा परिवर्तन आउनेछ । परिवर्तित संरचनामा ३० प्रतिशत मात्रै सरकारको लगानी हुने र बाँकी ७० प्रतिशत नेपाली संस्थागत तथा व्यक्तिगत लगानी हुने उनले औंल्याए ।

निगमले एयरबसका ठूला वाइडबडी जहाज १० वर्षमा ५० वटा बनाउने लक्ष्य बस्नेतको अवधारणामा उल्लेख छ । यस्तो लक्ष्य अघि सारेको अवस्थामा १० वर्षमा वार्षिक ५० लाख पर्यटक भित्र्याउन सकिने, ३० लाखलाई रोजगारी दिन सकिने र अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान पाँच गुणाले बढेर १२ खर्ब २० अर्ब रुपैयाँ बराबरको हुने बताइएको छ ।

यसका लागि गर्नुपर्ने लगानी करिब २१ खर्ब रुपैयाँको आवश्यक पर्ने देखिएको छ । यस्तो लगानी एकैपटक गर्नु पर्दैन । पहिलो पाँच वटा विमान सञ्चालन गर्न २५ अर्ब रुपैयाँ मात्रै नगद भए पुग्छ । निगमले सबै जहाज अन्तर्राष्ट्रिय लिज–फाइनान्स मोडालिटीबाट खरिद गर्न सक्ने भएकाले सुरुमै धेरै लगानी गर्न नपर्ने उनको भनाइ छ ।

बस्नेतले नयाँ युगको भिजन १० वर्षका लागि ल्याएको बताए । आगामी पर्यटन भित्र्याउने हब गौतमबुध्द अन्तर्राष्ट्रिय विमानस्थललाई बनाउन सकिने उनको भनाइ छ । काठमाडौं विमानस्थल अहिले नै यात्रु क्षमता धान्न नसक्ने अवस्थामा पुगेकोले अब लामो दूरीका जहाज उडानका लागि उपयुक्त विमानस्थल भैरहवा नै भएको उनले बताए ।

भैरहवाबाट डल्लास, टोरन्टो, न्यूयोर्क, लस एन्जलसमा सजिलै उडान गर्न सक्ने क्षमता भएको विमानस्थल हो । गौतमबुध्द अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडानले भोलिका दिनमा यसलाई हब विमानस्थलका रूपमा विकास गर्न सकिने आधार पनि बस्नेतले देखाएका छन् ।

बस्नेतले गतिशील लोकतान्त्रिक पार्टीले जिम्मेवारी पाएको अवस्थामा तीनदेखि छ महिनाभित्रै निगमको पुनःसंरचना गर्ने र वाइडबडी जहाज खरिद गरी लामो दूरीका गन्तव्यमा उडान सुरु गर्ने योजना कार्यान्वयनमा लैजाने बताएका छन् ।

निगमले गौतमबुध्द अन्तर्राष्ट्रिय विमानस्थलबाट एक वर्षभित्रै लामो दूरीको उडान सुरु गर्न सक्नेछ । यसका लागि तत्काल लगानी गर्नुपर्ने रकम जम्मा २५ अर्ब रुपैयाँ मात्रै हो । त्यसमा पनि एउटा जहाजमा लाग्ने लगानी साढे १२ अर्ब हो भने बाँकी साढे १२ अर्ब रुपैयाँ स्थापनाका लागि खर्च गर्नुपर्ने हुन्छ । १० वर्षमा ५० वाइडबडी जहाज पुर्‍याउने गरी काम गर्न वाइडबडी जेटमा गर्नुपर्ने लगानी १२ खर्ब ६० अर्ब (लिज सम्झौताबाट) हुने पनि उनले औंल्याए ।

पर्यटन उद्योगको सपना पूरा गर्न निगमको पुनःसंरचना गरेर १० वर्षमा ५० वटा जहाज पुर्‍याउँदा ३० लाखभन्दा बढीले रोजगारी पाउने दाबी बस्नेतको छ । भैरहवाबाट अन्तर्राष्ट्रिय उडान सुरु भएसँगै दाङमा विश्वस्तरीय तालिम केन्द्र बन्नेछ । त्यहाँ १ खर्ब ४० अर्ब रुपैयाँ लगानी हुने छ ।

यो लगानीपछि नेपालमा १५० जना को–पाइलट, ६०० एयरहोस्टेस र १०० जना इन्जिनियरले वार्षिक रूपमा तालिम पाउने अवस्था सिर्जना हुनेछ । नेपालले १० वर्षको भिजन बनाएर कार्यान्वयन गर्दा त्यसपछि यो लगानीकै कारण हवाई टिकटबाटै १० वर्षपछि वार्षिक ८ खर्ब ४० अर्ब आम्दानी हुने दाबी बस्नेतको छ ।