
काठमाडौं । राष्ट्र बैंकले ज्योति समूहको ९० करोडको कर्जामा शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्न लगाएपछि सिटिजन्स बैंकले नोक्सानीमा रहेको वित्तीय विवरण प्रकाशित गरेको छ ।
डा. रुप ज्योतिको कम्पनी नेपाल जनरल मार्केटिङको कर्जामा प्रथम त्रैमासमा आएको राष्ट्र बैंकको सुपरिवेक्षण टोलीले शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्न लगाएको थियो।
नेपाल जनरल मार्केटिङ नेपालमा हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता थियो । दुई वर्षअघि हिरो मोटरसाइकलको आधिकारिक विक्रेताको अधिकार ज्योति समूहबाट चौधरी समूहमा गएको थियो । रुप ज्योतिले सोही कम्पनीका लागि बैंकबाट लिएको ऋण भने मोटरसाइकलको आधिकारिक वितरकको अधिकार खोसिएपछि दुई वर्षसम्म पनि उक्त कर्जा सेटल भएको छैन । सोही कारण चालु आर्थिक वर्षको प्रथम त्रैमासमा आएर राष्ट्र बैंकले उक्त कर्जामा शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्न लगाएको हो।
रुप ज्योतिले अन्य आम्दानीबाट भए पनि कम्पनीको कर्जाको ब्याज नियमित तिर्दै आएकोले बैंकले ५ प्रतिशत कर्जा नोक्सानी व्यवस्था गरेर ‘वाचलिस्ट’मा राखेको थियो । उक्त कर्जामा अहिले राष्ट्र बैंकले व्यवसाय नै नभएको भन्दै १०० प्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्न लगाएपछि बैंकको वित्तीय विवरणमा ठूलो असर देखिएको छ । चालु आर्थिक वर्षको प्रथम त्रैमासमा बैंकले २२ करोड ४ लाख ११ हजार रुपैयाँ नोक्सानीमा रहेको वित्तीय विवरण प्रकाशित गरेको छ।
यसले गर्दा १ अर्ब ६६ करोड ६३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले प्रथम त्रैमासमै १ अर्ब ७३ करोड ७५ लाख रुपैयाँ कर्जा नोक्सानी व्यवस्थामा छुट्याएको छ । सोही कारण बैंकले नोक्सानीमा रहेको वित्तीय विवरण प्रकाशित गरेको हो । १४ अर्ब ७६ करोड ९० लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको सञ्चित नोक्सानी ४१ करोड ४८ लाख रुपैयाँ पुगेको छ।
असोज मसान्तमा बैंकको पुँजीकोष अनुपात १२.३१ प्रतिशत र प्राथमिक पुँजीकोष अनुपात ८.५३ प्रतिशत रहेको छ। बैंकको निष्क्रिय कर्जा अनुपात बढेर ६.८४ प्रतिशत पुगेको छ । आधार दर घटेर ५.९० प्रतिशतमा झरेको छ भने स्प्रेड रेट ३.७९ प्रतिशत रहेको छ।







प्रतिक्रिया