
विराटनगर । विराटनगर भन्सारका एजेन्ट नै तस्करीमा संलग्न भएको पाइएको छ । एजेन्टले भन्सार जाँच पास गरेका सामानमा जाँचपास नभएका सामान मिसाएर उद्योगी र व्यापारीका गोदाममा पुर्याउने गरेको खुलासा भएको छ ।
यही क्रममा भन्सार एजेन्ट सौगात पोखरेलका प्रतिनिधि कुन्दन मण्डललाई विराटनगर भन्सारले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको छ । मण्डलले भारतबाट आयात गरिएको लत्ता कपडासहित विभिन्न २३ प्रकारका सामानको भन्सार जाँचपास गर्ने क्रममा आधा मात्र गरेर आधा राजस्व छली गरेर व्यापारीको गोदाममा लैजाने प्रयास गर्दा भन्सारले नियन्त्रणमा लिएको छ ।
भन्सार छली गरेर ल्याइएको लत्ताकपडा र कपुर लगायतका सामान लोड गरिएको ट्याक्टर र त्यसलाई अदली बदली गर्न प्रयोग गरिएका उपकरणसहित मण्डल र उनका दुई सहयोगीलाई भन्सारले नियन्त्रणमा लिएको छ ।
विराटनगर भन्सार कार्यालयका प्रमुख उमेश श्रेष्ठ विशेष सूचनाको आधारमा खटिएको टोलीले को १ त ९७१७ नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिएर हेर्दा प्रज्ञापनपत्रमा उल्लेख गरिएको भन्दा बढी परिमाणमा कपडा, कपुर लगायतका खुद्रा सामान पाइएपछि सामानसहित एजेन्ट प्रतिनिधि मण्डल र उनका दुई सहयोगीलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाइएको बताउँछन् ।
पक्राउ परेका मण्डल भन्सार एजेन्ट सौगात पोखरेलका प्रतिनिधि हुन् । उनले पोखरेलको ७४५ नम्बरको लाइसन्स प्रयोग गरेर भन्सारबाट सामान छुटाउँदै आएका थिए । भन्सारले एजेन्ट लाइसन्स नम्बर ७४५ लाई निलम्बन गरेको छ ।
मण्डल पटक पटक यो प्रकरणमा पक्राउ पर्दै आएका पात्र हुन् । उनी यसअघि भन्सार जाँचपासमा ठगी गर्ने र अन्य नाकाबाट चोरी तस्करी गर्ने मुद्दामा दुई पटक पक्राउ परिसकेका पात्र हुन् ।
मण्डल भन्सार एजेन्ट पोखरेलका सहयोगी भए पनि सम्पूर्ण अवैध कामको योजना र कार्यान्वयनमा आफैँ संलग्न हुने गरेको स्रोतको दाबी छ । पटक–पटक विवादमा आइरहने र राजस्व छलीका लागि अनेकौँ जुक्ति लगाउन माहिर मानिने गर्दछन् । भन्सार क्षेत्रमा उनी राजस्व छलीका लागि विभिन्न तरिका अपनाउन माहिर मानिन्छन् र पटक–पटक विवादमा समेत आइसकेका व्यक्ति हुन् ।
प्रारम्भिक अनुसन्धानबाट मण्डलले भन्सारका केही कर्मचारीसँगको मिलेमतोमा लामो समयदेखि न्यून बिजकीकरण र सामानको घोषणा नगरी र जाँच पास नै नगरी भन्सारबाट सामान व्यापारीको गोदाममा पुर्याउँदै आएको आशंका भन्सारले गरेको छ ।
अनुसन्धानमा संलग्न एक भन्सार कर्मचारीका अनुसार, मण्डलले भन्सार छलीका लागि निकै योजनाबद्ध तरिका अपनाएको देखिन्छ । उनले सामान जाँचपासका लागि भन्सारको गोदाममा रहेको सिसिटिभी क्यामेराले नभ्याउने ‘ब्लाइन्ड स्पट’ (अँध्यारो कुनो) प्रयोग गर्ने गरेको पाइएको छ ।
‘मण्डलले गोदामको त्यस्तो कुनामा ट्याक्टर लगेर सामान अनलोड गर्थे र जाँच गरेजस्तो गरेर प्रज्ञापनपत्रमा उल्लेख भएभन्दा धेरै सामान पास गराउँथे,’ अनुसन्धानमा संलग्न ती कर्मचारीले भने, ‘त्यसरी छली गरेको सामान बाहिर निकाल्न उनले एम्बुलेन्स भित्र लुकाएको पाइएको छ ।’
भन्सार एजेन्ट संघ विराटनगरका अध्यक्ष देवकी शर्माले मण्डलले भन्सार एजेन्टको नाममा मदमासी गरेको स्वीकारे । ‘विराटनगरमा ६० जना नियमित भन्सार एजेन्ट छन् । तिनका ५–६ जना प्रतिनिधि छन्,’ शर्माले भने, ‘उनीहरुले एजेन्टका नाममा बदमासी गरेर समग्र एजेन्टको बदनामी गर्दै आएको पाइएको छ ।’
यो प्रकरणसँगै मण्डलले नै आयातमा सहजीकरण गरेको को १ त २०४१ नम्बरको अर्को ट्याक्टरलाई पनि इटहरीस्थित राजस्व अनुसन्धान कार्यालयले नियन्त्रणमा लिएर छानबिन सुरु गरेको छ । विराटनगर भन्सारबाट जाँचपास भएर निस्किसकेको उक्त ट्याक्टरमा पनि भन्सार छलीका सामान रहेको आशंकामा नियन्त्रणमा लिइएको राजस्व अनुसन्धान कार्यालयको भनाइ छ ।
विराटनगर भन्सार नाका भारतसँगको खुला सिमानाका कारण राजस्व छलीका लागि संवेदनशील मानिन्छ । यहाँ व्यापारी, भन्सार एजेन्ट र कर्मचारीको मिलेमतोमा हुने अवैध कारोबारले राज्यलाई वार्षिक लाखौंको राजस्व घाटा हुने गरेको छ । चोरी तस्करीकै कारण विगत पाँच वर्षदेखि विराटनगर भन्सारले वार्षिक लक्ष्य अनुसारको राजस्व असुली गर्न सकेको छैन । यो कार्यालयले लक्ष्यको ७०–७५ प्रतिशत मात्र राजस्व असुली गर्दै आएको छ ।







प्रतिक्रिया