
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले लोकतन्त्रमा राजनीतिक दलहरू नै बिग्रिए राष्ट्र बन्न नसक्ने चेतावनी दिएका छन् ।
बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै उनले पुराना पार्टी र नेताहरूले राम्रो काम नगर्दा अहिलेको जेनजी आन्दोलन जन्मिएको उल्लेख गरे । उनका अनुसार पार्टी र नेताहरूले जनतासँग घुँडा टेकेको, संविधान थिलथिलो बनाइएको र लोकतान्त्रिक मूल्यहरू कमजोर हुँदै गएको अवस्था देखिएको छ ।
भुसालले एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सबै राज्य दोहनमा लागेकाले अहिलेको संकट उत्पन्न भएको आरोप लगाए । ‘लोकतन्त्रमा राजनीतिक दलको विकल्प हुँदैन, तर पार्टीहरू नेताका स्वार्थका कारण विभाजित भएका छन् । नेताहरूले बनाएको बिर्ता जोगाउन विभाजनलाई निरन्तरता दिइरहेका छन्,’ उनले भने ।
एकीकृत समाजवादीलाई नेकपा (माओवादी केन्द्र) सँग एकता गराउने प्रयास अध्यक्ष माधव नेपालको व्यक्तिगत स्वार्थ भएको आरोप लगाउँदै उनले भने, ‘ओरालो लागेकाहरूको एकताले उकालो लागिन्छ भन्ने भाष्य गलत छ । यो कुनै निकास होइन । कमजोर र ओरालो लागेकाहरूको एकताले समाधान दिँदैन ।’
उनले एकीकृत समाजवादी पार्टी स्थापना गर्दा एमालेविरुद्ध विद्रोह गरेर समाजवादको जिम्मेवारी लिएको स्मरण गरे । तर अहिले त्यो जिम्मेवारी र उद्देश्य हराएको भन्दै उनले प्रश्न उठाए, ‘हामीले समाजवादको जिम्मा लिएका थियौं, अहिले त्यो कहाँ पुग्यो ? पुनर्गठन र रुपान्तरणबारे समीक्षा नगरी पुनः त्यही ठाउँमा फर्कन खोज्नुको अर्थ के हो ?’
भुसालले अहिले माओवादी केन्द्र र एकीकृत समाजवादीसहित नौ दलबिच हुन लागेको एकता प्रक्रियाले जनतालाई झुट बोल्ने र धोका दिने काम मात्रै गर्ने दाबी गरे । उनले भने, ‘एकताको नाममा तयार भएको दस्तावेजले मुलुकमा आएको परिवर्तन र जनदबाबलाई ध्यानमा नै राखेको छैन । यस्तो एकता जनतालाई भ्रममा पार्ने र झुक्याउने मात्रै हुन्छ ।’
पार्टी एकता प्रक्रियाप्रति असन्तुष्ट भुसालको समूहले उक्त एकतामा नजाने निर्णय लिएको छ भने रामकुमारी झाँक्री र किसान श्रेष्ठको समूह भने एमालेमा प्रवेश गर्ने तयारीमा रहेको बताइएको छ ।







प्रतिक्रिया