
एजेन्सी । अमेरिकाका पूर्वउपराष्ट्रपति डिक चेनीको ८४ वर्षको उमेरमा मृत्यु भएको छ ।
चेनी कठोर सोच भएका रूढिवादी नेता थिए । उनी अमेरिकाको इतिहासमा सबैभन्दा शक्तिशाली र विवादास्पद उपराष्ट्रपतिहरूमध्येका एक थिए । इराकमाथि सन २००३ मा गरिएको आक्रमणका प्रमुख समर्थक पनि थिए ।
उनको परिवारले दिएको जानकारी अनुसार, सोमबार राति निमोनिया र मुटु तथा रक्तनलीसम्बन्धी रोगका कारण उनको मृत्यु भएको हो ।
शान्त तर प्रभावशाली व्यक्तित्व भएका चेनीले दुई राष्ट्रपति पिता जर्ज एच डब्ल्यू बुश र पुत्र जर्ज डब्ल्यू बुश दुवैको कार्यकालमा सेवा गरेका थिए ।
पिता बुशको कार्यकालमा उनले खाडी युद्धका क्रममा रक्षामन्त्रीको रूपमा नेतृत्व गरे भने पछि पुत्र बुशका उपराष्ट्रपति बने ।
उनी बुश प्रशासनका प्रमुख सञ्चालन अधिकारी जस्तै थिए ।
राष्ट्रपतिका धेरै महत्त्वपूर्ण निर्णयहरूमा उनको गहिरो प्रभाव थियो र कतिपय निर्णयहरूमा त उनी आफैं मुख्य योजनाकार थिए ।
उनी लामो समयदेखि मुटुरोगी थिए र पछि हृदय प्रत्यारोपण समेत गरेका थिए ।
सन् २००१ सेप्टेम्बर ११ मा भएको आतंकवादी आक्रमणपछि अपनाइएका निगरानी, गिरफ्तार र सोधपुछका कठोर उपायहरूलाई उनले सधैं बचाउ गरे ।
पद छोडेपछि पनि चेनी विवादमा रहे ।
उनकी छोरी लिज चेनीले डोनल्ड ट्रम्प निर्वाचित भएपछिका गतिविधिहरूको खुला आलोचना गरिन् । त्यसपछि ट्रम्पले उनलाई पनि निशाना बनाए ।
चेनीले एक विज्ञापनमा भनेका थिए, ‘हाम्रो देशको २४६ वर्षको इतिहासमा डोनल्ड ट्रम्पभन्दा ठूलो खतरा हाम्रो गणतन्त्रका लागि कसैले पनि निम्त्याएको छैन । उनले झूट र हिंसाको प्रयोग गरेर हारेको चुनाव उल्ट्याउन खोजे र सत्तामा रहन प्रयास गरे । उनी कायर हुन् ।’
पछि पनि चेनीले ट्रम्पको विपक्षमा उठेकी डेमोक्य्राट उम्मेदवार कमला ह्यारिसलाई भोट हाल्ने बताएका थिए ।
आतंकवादको युगले चेनीको उपराष्ट्रपतित्व परिभाषित गरेको थियो ।
उनीले आफ्नो डिफिब्रिलेटर (मुटुको उपकरण) को वायरलेस प्रणाली नै बन्द गराएका थिए । आतंककारीहरूले टाढैबाट उनको मुटुमा झट्का पठाउन सक्ने डरका कारण उनले त्यसो गरेका थिए ।
उनको कार्यकालमा उपराष्ट्रपतिको पद औपचारिक भूमिकामा मात्र सीमित रहेन ।
चेनीले यसलाई शक्तिशाली सञ्जालमा परिणत गरे । त्यसमार्फत उनले इराक, आतंकवाद, राष्ट्रपतीय अधिकार, ऊर्जा र अन्य नीतिगत निर्णयहरूमा गहिरो प्रभाव पार्न सके ।
सधैं आधा मुस्कानसहित देखिने चेनीले ‘गोप्य रणनीतिकार’ भनी बनेको आफ्नो छविबारे पनि ठट्यौली गर्ने गर्थे ।
इराक युद्धमा उनले गरेका धेरै दाबीहरू गलत साबित भए । उनले इराक र सेप्टेम्बर ११ आक्रमणबीच सम्बन्ध भएको बताए पनि त्यो गलत थियो ।
उनले इराकमा अमेरिकी सेनाले ‘मुक्तिदाता’का रूपमा स्वागत पाउने दाबी गरेका थिए तर त्यस्तो भएन ।
इराकी विद्रोह अन्त्यको चरणमा रहेको भनी सन् २००५ मा उनले दाबी गरेका थिए । तर, त्यसबेलासम्म १६ सय ६१ जना अमेरिकी सैनिकको मृत्यु भएको थियो र युद्ध निकै पछिसम्म चल्यो ।
उनका समर्थकहरूका अनुसार, उनले कठिन समयमा पनि विश्वास कायम राखे । तर, अमेरिकामा युद्धविरोधी लहर देखिन थालेपछि उनको प्रभाव घट्दै गयो ।
बुशको दोस्रो कार्यकालसम्म आइपुग्दा अदालतले र राजनीतिक परिवर्तनले उनको शक्ति सीमित गरिदियो ।
सन् २००१ मा भएको आतंकवादी आक्रमणपछि महिनौंसम्म उनी गोप्य स्थानहरूबाट काम गर्थे । त्यस्तै किसिमको अर्को आक्रमण भएमा भने नेतृत्व सुरक्षित रहोस् भनी उनले लुकेर काम गरेका थिए ।







प्रतिक्रिया