
काठमाडौं । श्री स्टिलको व्यापार ६.६९ प्रतिशतले बढेको छ । कम्पनीको व्यापार सन् २०२४ को तुलनामा सन् २०२५ मा ६.६९ प्रतिशतले बढेको हो ।
सन् २०२४ मा ४ अर्ब ९९ करोड २० लाख रुपैयाँको व्यापार गरेको कम्पनीले सन् २०२५ मा ५ अर्ब ३२ करोड ६० लाख रुपैयाँको कारोबार गरेको छ ।
कम्पनीले सन् २०२३ मा ७ अर्ब ४ करोड ५० लाख रुपैयाँ, २०२२ मा ६ अर्ब १३ करोड ८० लाख रुपैयाँ र सन् २०२१ मा ७ अर्ब ४६ करोड ७० लाख रुपैयाँको कारोबार गरेको थियो ।
सन् २०१६ मा स्थापना भएको कम्पनीले सन् २०२२ सम्ममा दोस्रो स्टिल निर्माताको रुपमा थियो । तर, कम्पनीले स्टिल मेल्टिङ सप प्लान्टको निर्माण गरी बिलेट उत्पादन गर्दै आएको छ । कम्पनीले वार्षिक १ लाख ५० हजार मेट्रिक टन डण्डी उत्पादन गरी नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ ।
रुपन्देहीको रोहीनीमा रहेको उद्योगले श्री ब्रान्डमा आफ्नो उत्पादित सामग्री बिक्री वितरण गर्दै आएको छ । सन् २०२५ को जुलाईसम्ममा कम्पनीमा ८ जनाको स्वामित्व छ । कम्पनीमा सिद्धार्थ ग्रुपको ४० प्रतिशत, केडिया ग्रुपको २० प्रतिशत, मुरारका ग्रुपको २० प्रतिशत स्वामित्व छ । जगदम्बा इन्भेष्टमेन्ट एन्ड ट्रेडिङ कम्पनीको एफडीआई गरी २० प्रतिशत स्वामित्व छ ।
कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ५ अर्ब ७८ करोड ६९ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि १ अर्ब ३३ करोड ८२ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ४ अर्ब ४४ करोड ८७ लाख रुपैयाँको रेटिङ गराएको हो ।
कम्पनीकाअनुसार सन् २०२५ मा व्यापारबाट १३ प्रतिशत नाफा कमाएको छ । सन् २०२४ मा १० प्रतिशत नाफा कमाएको थियो । सन् २०२३ बाट बिलेट उत्पादन सुरु गरेको कम्पनीले डण्डीका लागि आवश्यक कच्चा पदार्थ आपूर्ति गर्दै आएको छ । कम्पनीले सन् २०२५ मा गरेको व्यापारमध्ये ९० प्रतिशत हिस्सा डण्डीको छ ।







प्रतिक्रिया