
एजेन्सी । भारत सरकारले विवादास्पद नेपाली व्यापारी तथा राजावादी अभियन्ता दुर्गा प्रसाईंको राजनीतिक अभियानसँग आफूलाई स्पष्ट रूपमा टाढा राखेको छ ।
प्रसाईं यसै साताको आरम्भमा स्वास्थ्य परीक्षणको फलोअपका लागि दिल्ली पुगेका छन् । क्यान्सरको उपचारका लागि उनी त्यहाँ गएको बताइएको छ ।
केही साताभित्रैको अन्तरमा प्रसाइँले भारतको दोस्रो यात्रा गरेका हुन् ।
एनडीटीभीका अनुसार, प्रसाईंले भारत भ्रमणलाई भारतीय नेताहरूसँग भेटघाट गर्ने र आफ्नो अभियानका लागि नैतिक समर्थन खोज्ने प्रयास भनेर सार्वजनिक रूपमा प्रस्तुत गरेका छन् ।
तर, भारतीय अधिकारीहरूले भने उनको गतिविधिसँग कुनै संलग्नता वा चासो नभएको दिल्लीले प्रस्ट पारेको एनडीटीभीको दाबी छ ।
कूटनीतिक र सुरक्षा स्रोतहरूलाई उद्धृत गर्दै एनडीटीभीले जनाएअनुसार, भारतीय अधिकारीहरूले प्रसाईंको राजनीतिक सक्रियतालाई अवाञ्छनीय विषयका रूपमा हेरेका छन् किनभने भारत हाल नेपाल सरकारसँग स्थिर सम्बन्ध कायम राख्न र नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगरेको देखाउन केन्द्रित छ ।
‘भारतीय अधिकारीहरूले दुर्गा प्रसाईंलाई भारतमा रहँदा कुनै राजनीतिक गतिविधि नगर्न र भारतीय समर्थनको झूटो दाबी नगर्न चेतावनी दिएका छन्,’ एनडीटीभीलाई एक अधिकारीले बताए ।
स्रोतका अनुसार, प्रसाईं वा उनका छोराले यसपटक पनि कुनै भारतीय सरकारी वा राजनीतिक प्रतिनिधिसँग भेटघाट गर्न सकेका छैनन् । यसअघि पनि उनीहरूले प्रयास गरेका थिए तर असफल भएका थिए ।
प्रसाईंले मंसिर ७ मा काठमाडौंमा ठूलो राजावादी प्रदर्शन गर्ने घोषणा गरेका छन् ।
यसपछि उनी देशभर सडक अवरोध र सामूहिक प्रदर्शनसहितको अभियान सुरु गर्ने तयारीमा छन् ।
राष्ट्रवाद र गणतन्त्रविरोधी विचारहरू मिसिएका प्रसाईंका भाषणहरूलाई राजावादीहरूले उत्साहका साथ समर्थन जनाएका छन् भने प्रमुख दलहरूले कडा विरोध गरेका छन् ।
दिल्लीका अधिकारीहरू प्रसाईंलाई भारतको समर्थन रहेको भन्ने दाबीबाट असन्तुष्ट भएको बताइन्छ ।
‘दुर्गा प्रसाईंको राजनीतिसँग भारतको प्रत्यक्ष अप्रत्यक्ष कुनै सम्बन्ध छैन,’ नेपालसँग सम्बन्धित एक वरिष्ठ अधिकारीले बताए । ‘उनी पूर्ण रूपमा आन्तरिक पात्र हुन् । उनका गतिविधिलाई भारतले कुनै समर्थन दिएको छैन ।’
नेपालमा हस्तक्षेप नगर्ने सिद्धान्तमा भारतको नीति अडिएको बताइएको छ । नेपालको लोकतान्त्रिक संस्थासँग सम्बन्ध मजबुत पार्न प्राथमिकता दिइने र कुनै सानो राजनीतिक आन्दोलनलाई समर्थन नगर्ने भारतीय अधिकारीहरूले दोहोर्याएका छन् ।
नेपालमा प्रसाईं नेतृत्वका प्रदर्शनहरू हिंसा र पक्राउ घटनासँग जोडिएका छन् । दुवै देशका विश्लेषकहरूका अनुसार, उनले बारम्बार भारतको समर्थनको दाबी गर्नु आफ्नै भित्री राजनीतिक हैसियत बढाउने प्रयास हो । तर, भारतको स्पष्ट अस्वीकारपछि उनको बाह्य समर्थनको दाबी निष्फल देखिएको छ ।
गत अप्रिल महिनामा प्रसाईं भारतमा पक्राउ परेका थिए र भारतीय प्रहरीले उनलाई नेपाल प्रहरीसमक्ष सुम्पिएको थियो ।
त्यतिखेर राजावादीहरूको हिंसात्मक प्रदर्शनका क्रममा प्रसाईंका समर्थकहरूले दर्जनौं सार्वजनिक र निजी भवनमा आगजनी गरेका थिए ।








प्रतिक्रिया