
काठमाडौं । बोधी होल्डिङ प्रालिले लुम्बिनीमा १०४ वटा युनिट हाउजिङ बनाइरहेको छ । कम्पनीले दुई चरणमा लुम्बिनीमा १०४ युनिटको आवासीय घर बनाउने भएको हो ।
कम्पनीले दुई चरणमा निर्माण गर्ने भएकाले सुरुमा ६५ युनिट हाउजिङ बन्ने छ । बाँकी युनिट दोस्रो चरणमा निर्माण गर्ने कम्पनीले जनाएको छ ।
कम्पनीले पहिलो चरणमा निर्माण गर्ने भनिएको हाउजिङ फोरबीएचके र फाइभबीएचकेको बन्ने छ । कम्पनीले ६५ वटा हाउजिङ निर्माणका लागि १ अर्ब १० करोड रुपैयाँ लागत अनुमान गरेको छ । जसमा ८० करोड रुपैयाँ कर्जा लिई लगानी गर्ने भएको छ भने बाँकी ३० करोड रुपैयाँ कम्पनीले व्यहोर्ने छ । कम्पनीले लगानीको अनुपात ७३:२७ राखेको छ ।
कम्पनीकाअनुसार हालसम्ममा ४९ करोड रुपैयाँ प्राप्त गर्ने अन्तिम चरणमा छ । कम्पनीले ६० प्रतिशत आर्थिक प्रगति गरिसकेको छ । जसमा कम्पनीले विभिन्न २४ जना ग्राहकबाट हाउजिङ बुकिङ गरेबापत १६ करोड ९० लाख रुपैयाँ प्राप्त गरिसकेको छ ।
सन् २०१९ मा स्थापना भएको कम्पनीले दीर्घकालीन कर्जाका लागि ८० करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले आवासीय र व्यवसायिक आवास बनाउने कार्य गर्दै आएको छ ।
आगामी दिनमा आवासको निकै माग आउने अनुमान कम्पनीको छ । आवासीय घरको माग आउने अनुमानसहित घरजग्गा व्यवसायीहरुले हाउजिङ बनाउने कार्यलाई निरन्तरमा दिँदै आएका छन् । तर, नयाँ योजना सार्वजनिक गर्नुभन्दा अगाडि बजारको मागले महत्वपूर्ण भूमिका रहेको रेटिङमा उल्लेख छ ।
सरकारी आर्थिक सर्वेक्षणले पनि विगतका केही वर्षदेखि घरजग्गा तथा निर्माणको मागमा निकै कमी आएको देखाउँछ । साथै, कर्जाको अनुपातमा कमी र उच्च ब्याजदरले गर्दा घरजग्ग्गा क्षेत्र निकै सुस्ताएको पाइन्छ । यद्यपी घरजग्गा खरिद बिक्रीमा कमी आए पनि निजी आवास र भाडा गतिविधिहरुमा देखिएको वृद्धिका कारण घरजग्गा कारोबार सेवा क्षेत्रको कुल मूल्य अभिवृद्धि बढ्ने अनुमान कम्पनीको छ ।
कम्पनीका अध्यक्ष जलेश्वर पाण्डे हुन् । उनीसँग बैंकिङ र फाइनान्स, कृषि, शिक्षा र हाइड्रोपावर क्षेत्रको अनुभव छ । उनी गरिमा विकास बैंकका पूर्वअध्यक्ष पनि हुन् । साथै, उनी बूढानीलकण्ठ हेरिटेजको निर्देशकसमेत हुन् ।
कम्पनीका निर्देशक बुद्धिराम यादव हुन् । उनी विशाल सिमेन्ट उद्योग, बोधी रेडसन होटल र अन्य विभिन्न क्षेत्रमा आवद्ध छन् । कम्पनीको सीईओ भने जीडी पाण्डे हुन् ।







प्रतिक्रिया