
काठमाडौं । जगदम्बा सिन्थेटिक प्रालिले एकै वर्ष २ अर्ब रुपैयाँको व्यापार गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा २ अर्ब १ करोड रुपैयाँको व्यापार गरेको हो ।
कम्पनीले सन् २०२४ मा १ अर्ब ६८ करोड ५० लाख रुपैयाँ र सन् २०२३ मा १ अर्ब ७० करोड ३० लाख रुपैयाँको व्यापार गरेको थियो । कम्पनीअनुसार गत आवमा व्यापार १९ प्रतिशतले बढेको छ ।
कम्पनीले गत आवमा ५ प्रतिशत खुद नाफा कमाएको छ । सन् २०२४ मा कम्पनीले नाफा कमाउन सकेको थियो ।
सन् २००२ मा स्थापना भएको कम्पनीले पीपी ओभन फ्याब्रिक र ब्याग, सिमेन्टको बोरा, फुड ग्रेन, पोलिमर, व्याकेजिङका सामग्री उत्पादन गरी बिक्री वितरण गर्दै आएको छ । साथै, कम्पनीले विभिन्न प्रकारका ब्याग र छोप्ने सामग्री उत्पादन गर्दै आएको छ । रुपन्देहीमा रहेको उद्योगबाट मासिक ३ हजार मेट्रिक टन फ्याब्रिक ब्याग उत्पादन गर्दै आएको छ ।
शंकर ग्रुपद्वार सञ्चालित कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ३ अर्ब ५९ करोड ६ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि १ अर्ब १९ करोड ६ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि २ अर्ब ४० करोड रुपैयाँको रेटिङ गराएको हो ।
कम्पनीले सामग्री उत्पादनका लागि आवश्यक कच्चा पदार्थ भारतबाट आयात गर्दै आएको छ । कम्पनीअनुसार उद्योगको लागि आवश्यक कच्चा पदार्थ नेपालमा उपलब्ध नभएकाले भारतबाट आयात गर्नु परेको उल्लेख गरेको छ ।
भारतबाट आयात गर्दा बजार र समयअनुसार मूल्य फरक पर्ने जनाएको छ । कम्पनीले गत आवमा गरेको कारोबार गरेकोमध्ये ८७ प्रतिशत हिस्सा कच्चा पदार्थको रहेको उल्लेख गरेको छ । सन् २०२४ मा कच्चा पदार्थको हिस्सा ७८ प्रतिशत थियो । कम्पनीका निर्देशक सुलभ अग्रवाल हुन् ।







प्रतिक्रिया