
काठमाडौं । गोयन्का ग्रुपद्वारा सञ्चालित सिद्धिविनायक स्टिलको व्यापार १० प्रतिशतले बढेको छ । कम्पनीको व्यापार सन् २०२४ को तुलनामा सन् २०२५ मा १० प्रतिशतले बढेको हो ।
सन् २०२४ मा १ अर्ब १ करोड ७० लाख रुपैयाँको व्यापार गरेको कम्पनीले सन् २०२५ मा १ अर्ब ११ करोड ७० लाख रुपैयाँको कारोबार गरेको हो ।
कम्पनीले सन् २०२३ मा १ अर्ब ३१ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो । तर कम्पनीले नाफा भने कमाउन सकेको छैन । कम्पनीकाअनुसार उत्पादित सामग्रीको बिक्री लागत धेरै हुँदा नाफा कमाउन नसकिएको हो । कम्पनीले सन् २०२४ र २०२५ मा २० करोड ८० लाख रुपैयाँ घाटा व्यहोरेको छ ।
सन् २०१८ मा स्थापना भएको कम्पनीले एमएस ब्ल्याक पाइप र काट्ने सामग्री उत्पादन गर्दै आएको छ । कम्पनीले वार्षिक ७३ हजार मेट्रिक टन क्षमतामा उद्योग सञ्चालन गर्दै आएको छ ।
कम्पनीले नयाँ सामग्री उत्पादन गर्ने योजना बनाएको छ । जसमा कम्पनीले एसएस कोयल आयात गरी उक्त कोयलको कटिङ, सेपिङ र पोलिसिङ गरी भारतमा निर्यात गर्ने योजना बनाएको छ । कम्पनीले आफ्नो व्यवसायलाई विस्तार गर्दै भारतीय बजारमा प्रवेश गर्ने उल्लेख गरेको छ ।
कम्पनीले भारतमा निर्यातका लागि मेसिनरीहरुको खरिद गरी कारोबारको तयारी गरेको छ ।
कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि २ अर्ब ६५ करोड १८ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि १ अर्ब ८ करोड १८ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि १ अर्ब ५६ करोड रुपैयाँको रेटिङ गराएको हो ।
कम्पनीका अध्यक्ष राम गोपाल गोयन्का हुन् ।







प्रतिक्रिया