
काठमाडौं । विश्वचर्चित अमेरिकी चेन होटल ब्रान्ड रमडा बाय विन्डह्यामको नाममा ‘रमडा बाय विन्डह्याम इटहरी पशुपति मार्ग’ होटलको लागत बढेको छ । इटहरीमा व्यवसायी देशबन्धु बस्नेतले नेपाल भित्र्याएको चेन होटलको लागत ४९.३४ प्रतिशतले बढेको हो ।
इटहरीमा पाँच तारे होटल निर्माण गरिरहेको ग्रान्ड सेन्ट्रल होटलले सुरुमा ६६ करोड ४० लाख रुपैयाँ लागतको अनुमान गरेको थियो । उक्त लागत बढेर १ अर्ब ७ करोड २० लाख रुपैयाँ पुगेको थियो ।
अहिले पुनः उक्त लागत बढेको कम्पनीले जनाएको छ । कम्पनीकाअनुसार होटल निर्माणका लागि १ अर्ब ६० करोड १० लाख रुपैयाँ लागतको अनुमान गरिएको छ ।
कम्पनीकाअनुसार होटलको डिजाइनमा परिवर्तन गर्दा लागत बढेको हो । हालसम्ममा कम्पनीको ९० प्रतिशत आर्थिक प्रगति भइसकेको छ । कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब १३ करोड ३० लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि १ अर्ब १० करोड ३० लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ३ करोड रुपैयाँको रेटिङ गराएको हो ।
कम्पनीले लगानीको अनुपात ७५:२५ राखेको छ । जसमा कम्पनीले होटल निर्माण सम्पन्न गरी सामान्य रुपमा चालु आवको दोस्रो त्रैमासिकमा सञ्चालन ल्याउने तयारी गरेको छ । साथै, कम्पनीले पूर्ण क्षमतामा भने सन् २०२७ बाट व्यवसायिक कारोबार सुरु गर्ने योजना बनाएको छ ।
कम्पनीको अध्यक्ष देशबन्धु बस्नेत हुन् । विश्वचर्चित होटल चेन रमडा वाइनधमको विश्वका ९० वटा देशमा ९ हजारभन्दा बढी होटलहरु सञ्चालन छन् ।







प्रतिक्रिया