महासंघको आग्रहपछि जिल्लामा व्यावसायिक वातावरण बनाउन सीडीओहरुलाई गृह मन्त्रालयको सर्कुलर

'उद्योग वाणिज्य संघ र सुरक्षा अधिकारीबीच बैठक राख्नू'

217
Shares

काठमाडौं । गृह मन्त्रालयले जिल्लामा व्यावसायिक वातावरण बनाउन सीडीओहरुलाई आन्तरिक सर्कुलर गरेको छ । जेनजी आन्दोलनपछि व्यवसायीको मनोवल कमजोर बनेकामा उकास्ने काम गर्न मन्त्रालयले निर्देशन दिएको हो ।

मन्त्रालयले जिल्लाका सीडीओहरुलाई गरेको परिपत्रमा जिल्लास्थित उद्योग वाणिज्य संघ र सुरक्षा अधिकारीबीच बैठक राख्न निर्देशन दिइएको छ ।

यही भदौ २३ र २४ गते जेनजी पुस्ताको अगुवाइमा भएको प्रदर्शनको क्रममा ठूलो जनधनको क्षति भएको विदितै रहेको भन्दै मन्त्रालयले सीडीओहरुलाईसार्वजनिक तथा निजी क्षेत्रसमेतमा सम्पत्तिको हानी नोक्सानी भएको सम्बन्धमा अनुकूल व्यवसायिक वातावरण तयार गर्न तहाँ जिल्ला सुरक्षा समितिका पदाधिकारी समेतको उपस्थितिमा जिल्लास्थित उद्योग वाणिज्य संघ लगायत व्यवसायीको सहभागितामा बैठक राखी आवश्यक समन्वय गर्न गराउन भनिएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ लगायत निजी क्षेत्रले जेनजी आन्दोलनका क्रममा भएको घुसपैठबाट उद्योग, व्यवसाय र निजी सम्पत्तिमाथि भएको लुटपाट, तोडफोड र आगजनीमा संलग्नबारे छानविन गरि कारबाही अगाडि बढाउन र सुरक्षाको प्रत्याभूतिका लागि सरकारसँग आग्रह गरेका थिए ।

महासंघले गृहमन्त्रीलाई पत्र लेख्दै ती घटनामा संलग्नहरुको जाहेरी नै नलिएको सदस्यहरुबाट गुनासो आइरहेको हुँदा यसले समाजमा दण्डहीनता मौलाउँदै जाने र व्यवसायी हतोत्साही हुने उल्लेख गर्दै यस विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।

‘व्यवसायिक मनोवल बढाउन सरकार र निजी क्षेत्रबीच समन्वय एवं सहकार्य हुनुपर्ने देखिएको छ,’ महासंघका महानिर्देशक गोकर्णराज अवस्थीले गृहमन्त्रीलाई लेखेको पत्रमा भनिएको छ, ‘यसका लागि केन्द्र, प्रदेश, जिल्ला र स्थानिय तहमा सरकार र निजी क्षेत्रबीच समन्वय संयन्त्रको आवश्यकता महसुस गरिएको छ । यस परिप्रेक्ष्यमा सबै तहमा समन्वय र मुख्य गरी जिल्ल्लास्तरीय सुरक्षा योजना, जोखिम मूल्यांकन र आकस्मिक निर्णय प्रक्रियामा व्यवसायिक समुदायको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न जिल्ला सुरक्षा समितिमा सम्बन्धित जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष एवं प्रतिनिधिलाई सहभागि गराउने व्यवस्थाका लागि माननीय मन्त्रीज्यू समक्ष सादर अनुरोध गर्दछु ।’

यस व्यवस्थाले स्थानिय प्रशासन र निजी क्षेत्रवीच समन्वय मजबुत हुने, व्यवसायिक जोखिम घटाउने र आर्थिक स्थायित्वमा सकारात्मक प्रभाव पार्ने विश्वास महासंघको रहेको पत्रमा भनिएको छ ।

महासंघले यसअघि भदौको घटनाले निजी क्षेत्रको मनोबल कमजोर पार्ने मात्र नभई आर्थिक क्रियाकलाप मै नकारात्मक असर पु¥याएको बताउँदै घटनाका दोषीहरूमाथि जाहेरी दर्ता नलिने र कारवाहीमा उदासीनता देखिएको सदस्य व्यवसायीहरुबाट जानकारी प्राप्त भैरहेको र यस्तो अवस्था कायम रहे यसले दण्डहीनता बढन गइ लगानीको वातावरणलाई गम्भीर चुनौती दिने देखिने बताएको थियो ।

महासंघले निजी क्षेत्रको सुरक्षाको प्रत्याभूतिका लागि केन्द्र र जिल्लास्तरीय सुरक्षा समितिहरूमा महासंघको प्रतिनिधित्व सुनिश्चित गर्न सम्बन्धित जिल्ला नगर उद्योग वाणिज्य संघका अध्यक्ष एवं प्रतिनिधिको सहभागिताका लागि पनि आग्रह गरेको छ ।