लगानीकर्ताको हित र बजारको ऊर्जा कायम गर्नेगरी नेप्सेले काम गर्छः सीईओ चापागाईं

266
Shares

काठमाडौं । नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चूडामणि चापागाईंले बजार चलाउनका लागि नियम र स्वतन्त्रता दुवै आवश्यक रहेको बताएका छन् ।

नेपाल सेयरबजार लगानीकर्ता संघको प्रथम वार्षिक साधारण सभालाई आज सम्बोधन गर्दै उनले सेयर बजारमा नियम धेरै भयो भने बजारमा उत्साह घट्ने र स्वतन्त्रता पनि बढी भयो भने बजारमा अराजकता आउने बताएका हुन् ।

बुद्धिमानी पूर्वक नियमन अपनाउनुपर्ने आजको आवश्यकता रहेको बताउँदै उनले लगानीकर्ताको हित र बजारको ऊर्जा पनि कायम राख्नेगरी नेप्सेले आफ्नो काम कारबाही अघि बढाउने प्रतिबद्धता जाहेर गरे ।

नेपाल स्टक एक्सचेन्ज सीईओ चापागाईँले पुँजीबजार केबल शेयर किनबेच गर्ने थलो मात्र नभएको बताउँदै यो देशको आर्थिक समृद्धिको आधार भएको पनि बताए ।

राष्ट्रको विकास, श्रम रोजगारी, उद्योग र लगानी यी सबै कुरा पुँजी बजारसँग जोडिएको उनको भनाइ छ ।

नेपाल स्टक एक्सचेन्ज सीईओ चापागाईंले भने ‘आजको संसारमा पुँजीबजार केबल सेयर किनबेच गर्ने थलो मात्र होइन । यो देशको आर्थिक समृद्धिको आधार हो । राष्ट्रको विकास श्रम रोजगारी, उद्योग र लगानी यी सबै कुरा पुँजी बजारसँग जोडिएका छन् । नेपाल अझै पनि बैंकमा आधारित अर्थतन्त्रबाट बजार आधारित अर्थतन्त्रको यात्रामा छ । यो यात्रा सफल बनाउन लगानीकर्ता, नियमक, दलालकम्पनी र सूचिकृत कम्पनी सबैको साझा जिम्मेवारी हुन्छ । बजारमा सबैभन्दा ठुलो कुरा विश्वास हो । विश्वास हरायो भने बजार पनि कमजोर हुन्छ । बजारमा उतारचढाव आउँछ ।’

उनले बजारमा धेरै लगानीकर्ता आइरहेको बताउँदै शेयरबजारको बारेमा साक्षरताको कमी देखिएको समेत बताए । नेपाल सेयरबजार लगानीकर्ता संघले साक्षरताका लागि नेतृत्व लिन समेत उनले सुझाव दिए ।

कार्यक्रममा सेयरबजार लगानीकर्ता संघका अध्यक्ष डा. केशव श्रेष्ठले नेपालमा सेयर लगानीकर्ताहरू सङ्गठित हुन जरुरी रहेकाले संघ स्थापना गरिएको बताए उनकाअनुसार लगानीकर्ताको आवाजलाई नीतिगत तहसम्मै पुर्याउन संघले महत्त्वपूर्ण भूमिका खेलेको छ ।

अध्यक्ष श्रेष्ठले भने ‘एउटा ठुलो तप्का ७० लाख सेयरका डिमाण्ट एकाउण्टवाला छन् । यो संख्या उल्लेख्य हो । नेपालको पुँजीबजारलाई चलायमान बनाउने कुरामा उनीको भूमिका असाध्यै महत्त्वपूर्ण हुन्छ । तर शेयरबजारका लगानीकर्ताहरू जति छरिएर रहेका छौँ । यसले हाम्रो आवाज नीतिगत तहसम्म पुग्न सही तवरले पुर्याउन सकेका छौ की छैनौँ भनेर विश्लेषण गरेपछि यो संस्था खोलिएको हो ।’

कार्यक्रममा साधारण लगानीकर्ता संघका अध्यक्ष रितुजंग जिसीले राज्यले राम्रो प्लेटफर्म बनाइदिएर संसारभर शेयरबजारको कारोबार हुने गरेको बताउँदै नेपालमा लगानीकर्ताको हितका लागि राज्यले राम्रो काम नगरिदिँदा आफूहरू संघ, सङ्गठन बनाएर हिँड्नुपर्ने अवस्था आएको बताए । उनले सेयरबजारका एजेन्डाहरू बोकेर नियमक निकायमा जाँदा बेवास्ता गरिने गरिएको गुनासो समेत गरे ।