
काठमाडौं । हालसम्मकै उच्च मूल्य कायम गर्दै रेकर्ड बनाएको सुनको भाउ पछिल्ला दिनहरूमा निरन्तर ओरालो लाग्न थालेको छ ।अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै नेपाली बजारमा पनि तीन दिनयता सुनको भाउ लगातार घटेको छ ।
गत आइतबार एकैदिन प्रतितोला ११ हजार ६ सय रुपैयाँले घटेर दुई लाख ४१ हजार ९ सय रुपैयाँ पुगेको सुनको भाउ सोमबार फेरि दुई हजारले घट्दै दुई लाख ३९ हजार ९ सयमा झर्यो । आज (मंगलबार) पुनः प्रतितोला दुई हजार ९ सयले घटेर दुई लाख ३७ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार ९७५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ । पछिल्ला दिनहरूमा देखिएको यो गिरावट क्रम अझै केही समय जारी रहने व्यवसायीहरूको आकलन छ ।
महासंघका प्रथम उपाध्यक्ष धर्मरत्न बज्राचार्यका अनुसार सुनको भाउ उच्च बिन्दुमा पुगिसकेकाले अब वृद्धि भन्दा पनि गिरावटको चरणमा प्रवेश गरेको छ ।
‘सुनको भाउ प्रतितोला दुई लाख ५८ हजार पुगेको थियो, जुन अत्यधिक हो । स्वाभाविक रूपमा त्यस्तो मूल्य लामो समय टिक्दैन । अब मूल्य क्रमशः घट्ने दिशामा छ,’ उनले भने ।
उनका अनुसार पछिल्लो समय अमेरिकामा सुनबाहेक अन्य क्षेत्रमा लगानीका अवसरहरू बढिरहेका कारण लगानीकर्ताहरूको ध्यान अन्यत्र सरेको छ, जसले सुनको माग घटाएको हो ।
‘तिहार अवधिमा नेपाल र भारत दुबैमा सुनको माग उच्च हुने भएकाले त्यतिबेला मूल्य केही समय स्थिर रह्यो । तर, चाडपर्व सकिएसँगै भारतमा पनि माग घटेको छ । त्यससँगै अमेरिकाले चीनसँग व्यापारमा लगाएका ट्यारिफ र चीनले रियर अर्थको आपूर्ति रोक्दा अमेरिकी इलेक्ट्रोनिक्स उद्योगमा असर पर्न गयो । त्यसपछि अमेरिकाले अस्ट्रेलियासँग रियर अर्थ आपूर्तिको सम्झौता गरेको छ, जसले केही स्थायित्व ल्याएको छ,’ बज्राचार्यले थपे ।
उनका अनुसार हाल अमेरिकाको सेयर बजार समेत उकालो लागिरहेको छ, जसले लगानीकर्ताहरू सुनबाट हटेर अन्य क्षेत्रमा लागेको देखाउँछ । त्यसकै प्रभाव स्वरूप सुनको माग र मूल्य दुवै घटेका हुन् ।
बज्राचार्यका अनुसार अहिले मूल्य घटेपनि बजारमा सुनको कारोबार खासै सक्रिय छैन । उनले पछिल्ला परिस्थिति हेर्दा सुनको भाउ नजिकैका दिनमा प्रतिऔंस दुई–चार सय डलरले अझै घट्न सक्ने सम्भावना रहेको बताए ।







प्रतिक्रिया