
काठमाडौं । एसवाई प्यानल नेपाल लिमिटेडले कात्तिक १९ गतेदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) निष्काशन गर्ने भएको छ । कोरियन लगानीमा भुकम्प प्रतिरोधी घर बनाउन खुलेको एसवाई प्यानलको आईपीओमा सर्वसाधारणले आवेदन दिन पाउने भएका हुन् ।
कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।
दोस्रो चरणमा सर्वसाधारणको लागि कात्तिक १९ गतेदेखि आईपीओ निष्काशन गर्न लागेको हो ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पुँजी १ अर्ब ३० करोड ८९ लाख ३७ हजार १०० रुपैयाँको ४० प्रतिशत अर्थात् ५२ करोड ३२ लाख ५४ हजार ८०० रुपैयाँ बराबरको ५२ लाख ३२ हजार ५४८ कित्ता साधारण सेयर निष्काशन गर्नेगरी विवरणपत्र स्वीकृत गराएको थियो ।
जसमध्ये कम्पनीले पहिलो चरणमा जारी पुँजीको २ प्रतिशतले हुने २ लाख ६१ हजार ६२९ कित्ता साधारण सेयर उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि र सार्वजनिक निष्कासनका लागि स्वीकृत पाएको सेयरको १० प्रतिशतले हुने ४ लाख ९७ हजार ९२ कित्ता साधारण सेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरि बाँडफाँट गरिसकेको छ ।
त्यस्तै कम्पनीले आफ्ना कर्मचारीहरुका सार्वजनिक निष्काशन गर्ने सेयरको ३ प्रतिशतले हुने १ लाख ४९ हजार १२७ कित्ता र सामूहिक लगानी कोषहरुका लागि ५ प्रतिशतले हुने २ लाख ४८ हजार ५४६ कित्ता सेयर सुरक्षित गरेको छ।
बाँकी रहेको ४० लाख ७६ हजार १५६ कित्ता सेयर कम्पनीले सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो । कम्पनीले प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँमा उक्त सेयर निष्कासन गर्न लागेको आह्वान पत्रमा उल्लेख छ ।
कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। उक्त आईपीओमा छिटोमा कात्तिक २३ गते र उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा आवेदन दिने म्याद मंसिर ३ गतेसम्म थप हुनेछ ।
कम्पनीले आईपीओ निष्काशनको लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी इस्यूअर रेटिङ डबल बी’ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
प्रत्यक्ष वैदेशिक लगानी रहेको कम्पनीमा दक्षिण कोरियाबाट लगानी आएको हो । कम्पनीको मुख्य लगानीकर्ता दक्षिण कोरियाको एसवाई को लिमिटेडको ४९ लाख ५४ हजार २७३ कित्ता सेयर छ । त्यस्तै कोरियन नागरिकहरु होङ योङ दोङको १६ लाख ६६ हजार ४६३ कित्ता, बाङ योङ जाईको ५ लाख ९९ हजार ४४ कित्ता र लि वा चुनको ५ लाख ९९ हजार ४४ कित्ता सेयर छ ।
भुकम्पपछि भुकम्प प्रतिरोधी कोरियन प्रविधिको घर निर्माण गर्न भन्दै कोरियन लगानीमा कम्पनी स्थापना भएको थियो । कम्पनीको कार्यालय काठमाडौं र उद्योग चितवनमा छ ।
आव २०८०/८१ मा करिब २३ करोड रूपैयाँको व्यापार गरेको कम्पनीले गत आवमा २७ करोडको आम्दानी गरेको थियो । गत आवको अपरिस्कृत वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा ६ करोड ९१ लाख रूपैयाँ तथा प्रतिसेयर आम्दानी ८ रूपैयाँ ८१ पैसा छ । कम्पनीले चालु आर्थिक वर्षमा १० करोड रूपैयाँ खुद नाफा र ९ रूपैयाँ २१ पैसा प्रतिसेयर आम्दानी गर्ने प्रक्ष्येपण गरिएको छ ।







प्रतिक्रिया