आधा खर्बको ऋणमा अधिकारीले ४ वर्षमा साढे ८ अर्ब मात्रै तिरे, बाइडबडीको पूरै किस्ता बुझाउन असफल

651
Shares

काठमाडौं । नेपाल वायुसेवा निगमको हालको नेतृत्वमा रहेका युवराज अधिकारी आएको ४ वर्षमा निगमले जम्मा साढे ८ अर्ब रुपैयाँमात्रै ऋणको किस्ता तिर्न सकेको छ ।

५३ अर्ब रुपैयाँभन्दा बढी ऋण बोकेको निगममा अधिकारी आएपछि औसतमा वार्षिक २ अर्ब रुपैयाँ मात्रै ब्याज तथा किस्ता तिर्न सकेका छन् । उनले आफ्नो कार्यकालको ४ वर्षमा वाइडबीको लागि एउटा पनि पूरै किस्ता तिर्न नसकेको कारण निगमले अन्तर्राष्ट्रिय उडानका ४ जहाजको लागि लिएको ऋणको सावाँ र ब्याज बढेको बढ्यै छ । अधिकारीको ४ वर्षे कार्यकालय यही कात्तिक दोस्रो साता सकिदैँछ ।

निगमले २ वटा वाइडबडी र दुई वटा न्यारोबडीको लागि असोज महिनामा जम्ममा ५३ करोड ९ लाख रुपैयाँ मात्रै तिर्न सकेको छ । यस्तो रकम निगमले अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरिएका दुई न्यारोबडी र दुई वाइडबडी जहाजको लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋण दायित्व मध्ये दुई न्यारोबडि जहाजको २०८२ असोज मसान्तसम्मको किस्ताबापत पूरै रकम तिरेको जानकारी दिएको छ । यस्तो रकम ३३ करोड रुपैयाँ हुन्छ । बाँकी दुई वाईडबडी जहाजको आंशिक अर्थात १०÷१० करोड रुपैयाँ गरेर २० करोड तिरेको छ ।

निगमको व्यवस्थापन वर्तमान नेतृत्वले सम्हाले पश्चात, निगमले जहाज खरिद सम्बन्धी ऋण दायित्व शीर्षकअन्तर्गत २०८२ असोज मसान्तसम्मको अवधिमा कुल ८ अर्ब ४५ करोड २४ लाख १८ हजार ६५७ रुपैयाँ किस्ता रकम भुक्तानी गरिसकेको निगमले जारी गरेको एक प्रेस विज्ञप्तिमा उल्लेख छ ।

विश्वव्यापी कोभिड–१९ महामारीका कारण निगमको व्यापारमा समेत प्रतिकुल असर परेकोले सोे अवधिको व्याजको व्याज, हर्जाना र पेनल छुट गरी सहयोग गरिदिन एंव किस्ताको संख्या बृद्धि गरेर ऋण दायित्व भुक्तानीलाई सहजीकरण गरिदिन कर्मचारी सञ्चय कोष तथा नागरिक लगानी कोषलाई अनुरोध पत्र पठाएको निगमले जानकारी दिएको छ । निगमको पत्रको सन्दर्भमा दुबै कोषले सकारात्मक प्रतिकृया दिएको निगमको दाबी छ ।