
काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले आम्दानी बढाउन नसक्दा ऋणको ग्राफ उकालोतर्फ मात्रै गइरहेको छ।
निगमले २०७४ जेठको अन्तिममा दुईवटा वाइडबडी किन्न लिएको २४ अर्ब रुपैयाँ ऋण बढेर ४२ अर्ब रुपैयाँ पुगेको छ । त्यो भन्दा अगाडि निगमले २०७० असारको पहिलो साता सञ्चयकोषबाट १० अर्ब रुपैयाँको ऋण पनि साँवाभन्दा बढी भएका कारण अझै १० अर्ब रुपैयाँ बाँकी छ।
निगमले चीनबाट ल्याएको एमए६० र वाई १२ नामक जहाज किन्न लिएको ३ अर्ब ऋण पनि तिर्न बाँकी छ । निगमलाई अन्तर्राष्ट्रिय उडानका ४ र उडान गर्न नसकेर ५ वर्षदेखि ग्राउन्डेड चिनियाँ जहाजसहितको ऋणको दायित्व गरेर ५५ अर्ब रुपैयाँ छ ।
यसमध्ये अन्तर्राष्ट्रिय उडानका ४ जहाजमध्ये २ वाइडबडीको मात्रै ४२ अर्ब, २ न्यारोबडीको १० अर्ब र ६ चिनियाँ जहाजको ३ अर्ब गरेर निगमसँग जहाज किन्दा लिएको ऋणको दायित्व नै ५५ अर्ब रुपैयाँ नाघेको छ ।

वायुसेवा निगमले २०७४ मा वाइडबडी जहाज थप गरेपछि बढेको ऋणको दायित्व वर्षेनी उकालो लाग्दै गएको छ । २०७५ असारमा ३७ अर्ब ऋण भएको निगमसँग अहिले चारवटा जहाजको मात्रै साढे ५२ अर्ब रुपैयाँ पुगेको छ । निगमले जहाज ल्याएर अपेक्षा अनुसार आम्दानी बढाउन नसक्दा, कोरोना महामारीको असर, निगमले बनाएको व्यापारिक योजना अनुसार लामो दूरीको गन्तव्यमा उडान गर्न नपाएको सहितका कारण यसको ऋण मात्रै बढेको निगमका प्रवक्ता मनोजकुमार साहले बताए ।
‘निगमसँग नगद बढ्दै जाँदा ऋण पनि घट्दै जाने हुन्छ । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा निगमलाई ठूला जहाज मर्मतमा ठूलो खर्च व्यवस्थापन गर्न पर्दैन । निगमका दुबै वाइडबडीको यो वर्ष सीचेक नपर्ने भएकोले यसवर्ष कमाउने मात्रै काम गर्छ । खर्च कम हुने वित्तिकै नगद प्रवाह बढ्ने र ऋण घटाउन सकिन्छ’, निगमका प्रवक्ता साहले भने ।
निगमले जहाज उडाएरै हालसम्म अन्तर्राष्ट्रिय उडानका जहाजको लागि मात्रै साढे १० अर्ब रुपैयाँ ऋण तिरिसकेको छ । पछिल्लो समय ऋणको दायित्व अस्वाभाविक रुपमा बढ्नुलाई भने निगमले कोरोना महामारीको असर, अपेक्षा अनुसार उडान गर्न नपाउनु र प्राविधिक कारण मर्मत सम्भारमा धेरै समय खर्च भएकोसहितको कारण उल्लेख गरेको छ ।
निगमले २०७५/७६ मा १६ अर्ब ३९ करोड आम्दानी हुँदा यसको ऋण दायित्व ३७ अर्ब ११ करोड थियो । त्यसपछिका चार वर्ष निगमले आम्दानी १६ अर्ब रुपैयाँबाट बढाउन नसक्दासमेत ऋण भने ३६ अर्बमै सिमित राख्न सकेको थियो ।
कोरोना महामारीको असरका कारण २०७७/७८ मा जम्मा साढे ९ अर्ब रुपैयाँ मात्रै आम्दानी गरेको र त्यसपछिको वर्ष ऋण तिर्न नगद अभावका कारण नियमित किस्ता रोकिदा२०७९/८० मा एकैपटक निगमको ऋण ४६ अर्ब रुपैयाँ पुगेको तथ्यांकले देखाएका छ ।
यो ऋण अन्तर्राष्ट्रिय उडानका जहाजको मात्रै हो । निगमले अहिले यी जहाजको ऋणको दायित्व ५२ अर्ब रुपैयाँ पुगेको छ भने चिनियाँ जहाजसहितको कुल दायित्व ५५ अर्ब रुपैयाँ नाघेको देखिएको छ ।







प्रतिक्रिया