युक्रेनलाई टमाहक क्षेप्यास्त्र दिने ट्रम्पको योजना : पुटिनलाई वार्तामा ल्याउने चाल ?

357
Shares

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले युक्रेनलाई लामो दूरीको टमाहक क्षेप्यास्त्र दिन सकिने बताएपछि युक्रेनी र उनीहरूका पश्चिमा सहयोगीहरू रुसलाई दबाब दिन सकिने आशाका साथ प्रफुल्लित भएका छन् । ट्रम्प यसमा अडिग रहिरहून् भन्ने उद्देश्यका साथ पैरवी गर्नका लागि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की शुक्रवार ह्वाइट हाउस पुग्दैछन् ।

युक्रेनले लामो समयदेखि यस हतियारको माग गरिरहेको भए पनि अमेरिकाले वास्ता गरेको थिएन । तर, आफ्नो अनेकौं प्रयासका बावजूद युद्ध नरोकिएपछि रुसलाई दबाब दिनका लागि यो हतियार आपूर्तिमा ट्रम्पले चासो देखाएका हुन् ।

युक्रेनका युरोपेली सहयोगीहरूले अमेरिकासँग यो हतियार किनेर युक्रेनलाई दिने भएकाले राज्यकोषमा फाइदा पुग्छ भनी व्यापारी सोचका ट्रम्प यसमा उत्सुक भएका हुन् ।

पहिला टमाहक के हो भन्नेबारे चर्चा गरौं ।

यो लामो दूरीको क्रुज क्षेप्यास्त्र हो जसमा जेट इन्जिन हुन्छ र जसलाई त्यसभित्र रहेको जीपीएसले निर्देशित गर्छ ।

अमेरिकी कम्पनी रेथ्यनले बनाएको यो क्षेप्यास्त्रको दूरी २५ सय किलोमिटर छ । युक्रेनले यो हतियार पाएमा रुसको निकै भित्री भागसम्म पुगेर क्षति गराउन सक्छ । यस्तो एक हतियारलाई कम्तीमा १३ लाख डलर पर्छ ।

टमाहक क्षेप्यास्त्र ध्वनिको भन्दा कम गतिमा र होचो अल्टिच्युडमा उड्न सक्ने भएकाले यसलाई जमिनमा भएको रेडारले पत्ता लगाउन सक्दैन । त्यसमाथि यो लक्ष्यमा सटीक प्रहार गर्न सक्षम छ ।

त्यसबाहेक यो क्षेप्यास्त्र कुनै ठाउँमा घुमेर बस्न सक्ने (लोइटरिङ), उडानकै क्रममा यसको निशाना परिवर्तन गराउन सकिने (रिटार्गेटिङ मिडफ्लाइट) र अनेकौं तहमा रहेका हवाई प्रतिरक्षक प्रणालीहरूलाई पनि छेड्न सकिने विशेषताले भरिपूर्ण छ ।

युक्रेनले अहिले बेलायतबाट प्राप्त स्टोर्म श्याडो क्षेप्यास्त्रका साथै अमेरिकाले दिएको एटीएसीएमएस क्षेप्यास्त्रहरू उपयोग गरिरहेको छ । यिनको अधिकतम दूरी ३२० किलोमिटर छ र यिनले युक्रेनी भूमिमा आधिपत्य कायम गरेका रुसी सैनिकहरूलाई मात्र तारो बनाउन सक्छन् ।

तर, टमाहक पाएपछि युक्रेनले रुसको भित्री भागमा रहेका कमान्ड सेन्टर, बन्दोबस्तीका केन्द्र र महत्त्वपूर्ण पूर्वाधारलाई पनि निशाना बनाउन सक्छ । त्यस अवस्थामा हाल कायम रणनीतिक सन्तुलनमा परिवर्तन आउन सक्ने भनी युक्रेनले आशा गरेको छ।

अमेरिकाले यो हतियार उपलब्ध गराएर रुसलाई युद्ध लम्ब्याउँदा झन् झनै घाटा लाग्दै जाने सन्देश दिन खोजेको देखिन्छ । तर, यसले ल्याउने जोखिम उच्च छ । रुसले टमाहकको उपयोगका विरुद्ध कडा चेतावनी दिएको देख्दा यसबाट युद्धको दायरा फराकिलो हुने संकेत पाइन्छ ।

मुख्य कुरा त, युक्रेनसँग यस्तो जटिल हतियार चलाउने क्षमता छैन । त्यसैले युक्रेनी भूमिमा अमेरिकी सैनिकहरू नै तैनाथ भएर टाइफन नामक लोन्चरमार्फत यसको प्रक्षेपण गर्नुपर्ने हुन्छ । त्यस अवस्थामा अमेरिकी सैनिकहरू पनि रुसको तारो बन्न सक्ने भनी मस्कोले चेतावनी दिएको छ ।

कतिपय विश्लेषकहरू जेलेन्स्की युद्धमा अमेरिकालाई प्रत्यक्ष सहभागी गराउनका लागि पहिलेदेखि नै उद्यत रहेकोमा यस हतियारमार्फत त्यो लक्ष्य पूरा हुने आशा गरिरहेको टिप्पणी गर्छन् ।

अर्को कुरा, टमाहक क्षेप्यास्त्रमा परम्परागतका साथै आणविक हतियार (वारहेड) पनि राख्न मिल्छ । रुसविरुद्ध टमाहकमार्फत आणविक हतियार उपयोग गरिएछ भने मस्को त्यसको आणविक जवाफ फर्काउन बाध्य हुनेछ । त्यस स्थितिमा तेस्रो विश्वयुद्ध सुरु हुन्छ ।

टमाहक यति खतरनाक भएकैले गर्दा ट्रम्पका पूर्ववर्ती जो बाइडनले युक्रेनलाई यो हतियार दिएका थिएनन् । बुढ्यौलीका कारण मानसिक रूपमा सबल नभए पनि बाइडनले टमाहक क्षेप्यास्त्र युक्रेनीहरूको हातमा पुग्दा आणविक युद्धको स्थिति आउन सक्ने कुरा बुझेरै त्यसको आपूर्तिमा रोक लगाएका थिए ।

अमेरिकाले युक्रेनलाई टमाहक क्षेप्यास्त्र उपलब्ध गराएमा रुस र अमेरिकाको सम्बन्ध भत्किने भनी रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले चेतावनी दिएका छन् । अमेरिकी सैनिकहरूले मात्र टमाहक चलाउन सक्ने भएकाले यसको उपयोग हुँदा युद्ध युक्रेनमा मात्र सीमित नरही अमेरिका समेत जोडिएर दायरा फराकिलो हुने पुटिनको चेतावनी छ ।

त्यस्तै रुसी संसद् डुमाको रक्षा समितिका प्रमुख आन्द्रेई कार्तापोलोभले यी क्षेप्यास्त्रहरूलाई खसाउने क्षमता रुससँग रहेको र यसलाई युक्रेनी भूमिबाट प्रहार गर्नेहरूमाथि पनि रुसले निशाना लगाउने बताए । हुन पनि रुसले ओरेश्निक क्षेप्यास्त्रमार्फत कुन हदसम्मको क्षति गराउन सकिन्छ भनी विगतमा उदाहरण पेश गरिसकेको छ ।

टमाहकको बारेमा सञ्चारमाध्यममा यति हल्लीखल्ली गरेर ट्रम्पले रुसलाई तदनुसारको प्रतिरक्षा प्रणाली तयार पारेर राख्नका लागि अवसर दिएका हुन् भनी कतिपय विश्लेषकहरू तर्क गर्छन् । पुटिनले प्रतिरक्षा प्रणालीलाई सुदृढ बनाउने भनेर त्यसैलाई इंगित गरेका हुन सक्छन्

त्यस्तै रोडिना नामक राजनीतिक दलका अध्यक्ष तथा संसद्को रक्षा समितिका उपाध्यक्ष अलेक्सी झुराव्लेभले युक्रेनलाई टमाहक दिइएमा पोल्यान्डमा रहेको रजेसजाउ सैन्य केन्द्रलाई समेत तारो बनाउन सकिने बताएका छन् । पोल्यान्ड नेटो सदस्य भए पनि उसको सैन्य केन्द्रलाई निशाना बनाएर नेटोविरुद्ध लड्न पनि तयार रहेको उनको भनाइ छ । पश्चिमले युक्रेनलाई पठाउने गरेको हतियार पोल्यान्डको बाटो भएर आउने गरेको भएर पनि झुराव्लेभले यस्तो विचार व्यक्त गरेका हुन् । उनको यस भनाइले पनि टमाहकप्रति रुसको संवेदनशीलताको आकलन गर्न सकिन्छ ।

टमाहकले तेर्स्याउने जोखिमको सामना गर्नका लागि हवाई प्रतिरक्षा सुदृढ बनाउने पुटिनको भनाइ छ । हुन पनि रुसलाई क्रुज क्षेप्यास्त्रको जोखिमका विषयमा पूर्ण जानकारी भएकाले उसले हवाई प्रतिरक्षालाई दशकौंदेखि बलियो बनाउँदै आएको छ ।

अझ त्यसमाथि रुसले टमाहक क्षेप्यास्त्रको उपयोग हुनुअघि नै प्रिएम्पटिभ स्ट्राइकका रूपमा युक्रेनको पूर्वाधार, ऊर्जा प्रणाली वा सैन्य बन्दोबस्ती केन्द्रमा आक्रमण गर्न सक्ने रक्षा विशेषज्ञहरू बताउँछन् । त्यसो गर्दा युक्रेनमाथि दबाब पर्ने र उसले टमाहकलाई प्रभावकारी रूपमा उपयोग गर्न नसक्ने अवस्था आउन सक्छ । हुन पनि रुसले हालैका दिनमा युक्रेनका विद्युत् प्रसारण लाइनमा आक्रमण गरी नयाँ जोखिमका विरुद्ध प्रिएम्पटिभ मेजर अपनाएको देखिन्छ ।

त्यसका साथै रुसले किन्जाल लगायतका हाइपरसोनिक क्षेप्यास्त्र, अत्याधुनिक इलेक्ट्रोनिक वारफेयर हतियार र जहाजनिरोधी बलिस्टिक क्षेप्यास्त्रहरूको तैनाथीलाई द्रुत गतिमा बढाउन सक्छ ।

खासमा युक्रेनले रुसलाई अहिले कायम सीमामा (कन्ट्याक्ट लाइन) रोकिनका लागि दबाब दिन खोजेर पनि टमाहकको माग गरिरहेको हो । रुसले यो वर्ष मात्र युक्रेनको ५ हजार वर्गकिलोमिटर क्षेत्रमा नियन्त्रण कायम गरेको पुटिनले जानकारी दिएका छन् । समग्रमा युक्रेनको २० प्रतिशत भूभागमाथि रुसले नियन्त्रण गरिरहेको छ । हुन त युक्रेन आफ्नो सम्पूर्ण भूभागबाट रुसलाई पछि हटाउन चाहन्छ तर त्यो सम्भव नभएकाले कन्ट्याक्ट लाइनलाई फ्रीज गर्न पाए पनि उपलब्धि हुने थियो र त्यसका लागि टमाहकले सहयोग गर्ला भन्ने सोच बनाइरहेको छ ।

उता, रुस चाहिँ पूर्वी युक्रेनका चार क्षेत्र दोनेत्सक, लुगान्सक, जापोरिजा र खर्सनका पूरै क्षेत्रमा आफ्नो पूर्ण नियन्त्रण कायम गर्नका लागि लडिरहेको छ । त्यो अभीष्ट पूरा नहुन्जेलसम्म रुसले लडाइँ गरिरहेकाले ट्रम्प निराश भएका छन् । उनी यो लडाइँ अन्त्य भएदेखि आफ्नो सम्पूर्ण ध्यान हिन्द–प्रशान्त क्षेत्रमा समकक्षी प्रतिस्पर्धी चीनका विरुद्ध केन्द्रित गर्न पाइने सोच राख्छन् । त्यसैले रुसलाई तत्काल वार्ताको टेबलमा आउनका लागि बाध्य बनाउन सकिन्छ कि भनेर पनि उनले युक्रेनलाई टमाहक क्षेप्यास्त्र दिन सकिने संकेत दिएका हुन् ।

तर, टमाहकको बारेमा सञ्चारमाध्यममा यति हल्लीखल्ली गरेर ट्रम्पले रुसलाई तदनुसारको प्रतिरक्षा प्रणाली तयार पारेर राख्नका लागि अवसर दिएका हुन् भनी कतिपय विश्लेषकहरू तर्क गर्छन् । पुटिनले प्रतिरक्षा प्रणालीलाई सुदृढ बनाउने भनेर त्यसैलाई इंगित गरेका हुन सक्छन् ।

विश्लेषकहरू अमेरिकाले युक्रेनलाई ५० वटासम्म टमाहक क्षेप्यास्त्र दिएर आफ्नो सुपरिवेक्षणमा राख्दै रुसका सैन्य केन्द्रहरूमा मात्र आक्रमण गर्ने अनुमति दिन सक्ने परिदृश्यको परिकल्पना गर्छन् । त्यसको प्रतिकारका रूपमा रुसले युक्रेनको ऊर्जा पूर्वाधारमा आक्रमण गर्न सक्छ । यस अवस्थामा युद्ध अलिकति चर्किन्छ तर त्यसमा तात्त्विक परिवर्तन आउँदैन ।

रुसका नेताहरूले चर्को कुरा गरे पनि पुटिनले युक्रेन युद्धको दायरा फराकिलो बनाउन नचाहेको देखिन्छ । गत जुन महिनामा युक्रेनले अपरेशन स्पाइडरवेबमार्फत रुसको न्युक्लियर ट्रायडमा ड्रोन आक्रमण गरेर रुस सरकारको लक्ष्मणरेखा पार गरेको भए पनि पुटिनले जवाफमा आणविक हतियार प्रहार गर्ने अनुमति दिएका थिएनन् । पश्चिमाहरूले दानवीकरण गरेको भए पनि पुटिन सुझबुझ भएका र आक्रोशमा निर्णय नगर्ने संयमित नेता हुन् ।

त्यसैले युक्रेनलाई अमेरिकाले टमाहक क्षेप्यास्त्र दिने विषयमा मिडिया ट्रायल गरेर रुसलाई पूर्वतयारीको अवसर दिँदै युद्धलाई सीमित दायरामा राख्ने गरी व्यवस्थापन गरेको हुन सक्छ । त्यसो गरेर पुटिनलाई वार्ताका लागि फकाउने ट्रम्पको सोच हुन सक्छ ।

अर्को दुई साताभित्र हंगेरीमा ट्रम्प र पुटिनको वार्ता हुने घोषणा स्वयं ट्रम्पले गरेका छन् । टमाहकको डरका कारण पुटिनले ट्रम्पसँग वार्ता गर्न खोजेको भनी जेलेस्न्कीले टिप्पणी गरेका छन् ।

तर, ट्रम्पको निरन्तर प्रयासका बावजूद पूर्वी युक्रेनका चार क्षेत्र पूर्ण रूपमा हात नपारुन्जेल रुसले युद्ध रोक्ने देखिएको छैन ।