
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले हालै विकसित राजनीतिक परिस्थितिका कारण वित्तीय सन्तुलन र दीगो आर्थिक वृद्धिका प्रयासमा चुनौती थपिएको बताएका छन् । वासिङ्टन डीसीमा जारी विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकका दौरान सार्क आयोजना भएको फाइनान्स गभर्नर्स मिटिङमा उनले मुद्रास्फीति र बाह्य क्षेत्रका सूचकहरू सहज अवस्थामै रहेको बताए ।
तर, पछिल्लो राजनीतिक परिस्थितिका कारण वित्तीय सन्तुलन र दीगो आर्थिक वृद्धिका प्रयासमा चुनौती थपिएको बताएका हुन् । उक्त चुनौतीलाई सम्बोधन गर्दै अर्थतन्त्रको पुनरुत्थान र गतिशीलताको निम्ति नीतिगत सहजीकरणको प्रयास थालिएको उनले बताए ।
बंगलादेश बैंकका गभर्नर डा. असान एच. मन्सुरको अध्यक्षतामा आयोजित उक्त बैठकमा दक्षिण एसिया क्षेत्रका केन्द्रीय बैंकका गभर्नर, डेपुटी गभर्नर, अर्थ मन्त्रालयका अधिकारी र अन्य प्रतिनिधिको सहभागिता थियो ।
बैठकमा बंगलादेश बैंकका गभर्नर मन्सुरले दक्षिण एसिया क्षेत्रमा केन्द्रीय बंकै बीच क्षेत्रीय सहकार्य र असल अभ्यासको आदानप्रदानका निम्ति सार्क फाइनान्स साझा मञ्च रहेको बताए ।
कार्यक्रमा अवसरमा सहभागी केन्द्रीय बैंकका तर्फबाट आ–आफ्नो देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिबारे प्रस्तुति दिइएको थियो । बैठकमा सार्क पेमेन्ट काउन्सिलको प्रभावकारिता, सार्क क्षेत्रमा वित्तीय समावेशीकरण, सार्क मुलुकबीच ‘करेन्सी स्वाप’को सम्भावना, साझा अनुसन्धान र तथ्यांक प्रणाली, सार्क छात्रवृत्ति र आगामी कार्यदिशाका विषयमा सहभागीहरूबीच छलफल भएको थियो ।
कार्यक्रममा सहभागी केन्द्रीय बैंकका गभर्नरहरूबाट सार्क सदस्य राष्ट्रबीच आगामी दिनमा आर्थिक तथा वित्तीय क्षेत्रका समसामयिक विषयमा समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकतामा जोड दिइएको थियो ।
उक्त बैठकबाट सार्क फाइनान्को अध्यक्षता भुटानको केन्द्रीय बैंक ‘रोयल मनिटरी अथोरिटी’मा हस्तान्तरण भएको छ ।
बैठकमा आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. रामशरण खरेल र गभर्नरको कार्यालयका निर्देशक शरणकुमार अधिकारीको समेत सहभागिता थियो ।







प्रतिक्रिया