
काठमाडौं । अर्थमन्त्री रामेश्वर प्रसाद खनालले असोज २९ गते संयुक्त राज्य अमेरिकाको वाणिज्य प्रतिनिधिसँग नेपाल र संयुक्त राज्य अमेरिका बीचको आपसी व्यापार र लगानी प्रवर्द्धनका विषयमा छलफल गरेका छन् । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिने क्रममा संयुक्त राज्य अमेरिकाको वासिङटन डीसीमा रहेका खनालले नेपाल ट्रेड प्रिफरेन्स् प्रोग्रामको म्याद थप गर्न आग्रह पनि गरे ।
त्यसैगरी अमेरिकी स्टेट डिपार्टमेन्ट (विदेश मन्त्रालय)का प्रतिनिधिसँग दुई देशका सम्बन्ध सुदृढ गर्ने लगायत आपसी हितका विषयमा संवाद भएको थियो ।
अर्थमन्त्री खनालले साउदी फन्ड र जापान सहयोग नियोग (जाइका) का प्रतिनिधिसँग छुटाछुट्टै भेटवार्ता गरी नेपालमा पूर्वाधार र मानव विकासका क्षेत्रमा लगानी बढाउन आग्रह गरे । फन्डका प्रतिनिधिले नेपालमा सिंचाई र जलविद्युतमा फन्डको लगानी रहने जानकारी गराए ।
जापान सहयोग नियोगका प्रतिनिधिसँग विपी राजमार्ग पुनर्स्थापना, नागढुंगा सुरुङमार्ग र कोटेश्वर सेक्सन आयोजना छिटो अगाडि बढाउने लगायतका विषयमा छलफल भएको छ ।
त्यसैगरी अन्तर्राष्ट्रिय मुद्रा कोषका एशिया प्रशान्त हेर्ने निर्देशक कृष्णा श्रीनिभासनसँग कोषको सहयोगमा संचालित विस्तारित कर्जा कार्यक्रमको कार्यान्वयनलाई निरन्तरता दिने विषयमा छलफल भएको छ । सो अवसरमा नेपाल राष्ट्र बैंक ऐनमा गर्नुपर्ने संशोधन, वाणिज्य बैंकहरुको कर्जाको पोर्टफोलियो अध्ययन र वित्तीय स्थायित्व कायम गर्ने विषयमा दुवै पक्षबाट विचार आदान प्रदान भएको थियो । भेटमा नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलको समेत उपस्थिति थियो ।







प्रतिक्रिया