
काठमाडौं । चालु आर्थिक वर्षको २ महिनामै शोधनान्तर बचत डेढ खर्ब नाघेको छ । नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले सार्वजनिक गरेको भदौ सम्मको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदनले चालु खाता र शोधनान्तर स्थिति उल्लेख्य बचतमा रहेको देखाएको छ ।
आयातमा समान्य वृद्धि देखिएपनि निर्यातसँगै रेमिट्यान्समा पनि उच्च वृद्धि देखिँदा चालु खाता र शोधनान्तर बचत दुबै २ महिनामै १ खर्बमाथि पुगेको हो । भदौसम्म शोधनान्तर बचत १५३ अर्ब ६८ करोड पुगेको छ । गत आर्थिक वर्ष २०८१/८२ को पहिलो २ महिनामा शोधनान्तर बचत १ खर्ब १ अर्ब ७७ करोड रुपैयाा बराबर थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति१ अर्ब १० करोडले बचतमा छ ।
चालु खाता बचत पनि १ खर्ब ३० अर्ब ३६ करोड रहेको केन्द्रिय बैंकले जनाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा चालु खाता ५४ अर्ब ४१ करोडले मात्रै बचतमा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४१ करोडले बचतमा रहेको चालु खाता चालु आर्थिक वर्षको २ महिनामा ९३ करोडले बचतमा छ ।
यस अवधिमा खुद पुँजीगत ट्रान्सफर २ अर्ब २० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १ अर्ब २० करोड मात्रै थियो । यस्तै १ अर्ब २७ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको केन्द्रिय बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) २ अर्ब ७१ करोड थियो ।







प्रतिक्रिया