दुई महिनामा साढे तीन खर्ब रेमिट्यान्स भित्रियो

56
Shares

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा साढे ३ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यस्तो रेमिट्यान्स आप्रवाह गत वर्ष २०८०/८१ को पहिलो २ महिनाको तुलनामा ३३.१ प्रतिशतले वृद्धि बढेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १५.८ प्रतिशतले बढेको थियो । २०८२ भदौ महिनाको विप्रेषण आप्रवाह एक १ खर्ब ७४ अर्ब ६७ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह १ खर्ब २७ अर्ब ९९ करोड रुपैयाँ थियो ।

समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २७.६ प्रतिशतले वृद्धि भई २ अर्ब ५२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४.२ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ३ खर्ब ८४ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २ खर्ब ८७ अर्ब ७६ करोड रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ९० हजार १९८ र पुनः श्रम स्वीकृति लिनेको संख्या ४५ हजार ८८४ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ७६ हजार ४८५ र ४० हजार ५८३ थियो ।