२ वर्षदेखि रोकिएको सहुलियत कर्जाको साढे १० अर्ब रूपैयाँ ब्याज अनुदान बैंकहरूले पाए

294
Shares

काठमाडौं । २ वर्षदेखि रिकारले शोधभर्ना दिन बाँकी रहेको सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानको साढे १० अर्ब रुपैयाँ एकैपटक निकासा भएको छ । २०८० साउनदेखिको सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान वापतको रकम सरकारले भुक्तानी गर्न बाँकी थियो ।

२३ र २४ भदौमा भएको जेन जी आन्दोलनपछि बनेको अन्तरिम सरकारको अर्थमन्त्रीमा रामेश्वर खनाल नियुक्त भएसँग उक्त अनुदान वापतको रकम भुक्तानीको लागि निकासा दिने निर्णय गरेका थिए । अर्थ मन्त्रालयले उक्त अनुदानको रकम निकासा दिएपछि राष्ट्र बैंकले निर्णय गरेर मंगलबार सम्बन्धित बैंकको खातामा पठाएको राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभाग प्रमुख गुरू प्रसाद पौडेलले बताए ।

२०८० साउनयताको ७ वटा त्रैमास अर्थात् २०८१ चैत मसान्तसमम्मको ब्याज अनुदानको १० अर्ब ५८ करोड रुपैयाँ बराबरको रकम निकासा भएको कार्यकारी निर्देशक पौडेलले बताए ।

सरकारले निकासा गरेर राष्ट्र बैंकको कोषमा रहेको केही रकम बाँकी रहेकोले अर्को त्रैमाससम्म गत आर्थिक वर्षसम्मको बक्यौता रहेको ब्याज अनुदानको शोधभर्ना भुक्तानी हुने पौडेलको भनाई छ । अहिले गत चैतसम्मको ब्याज अनुदान भुक्तानी भएको र अर्को त्रैमासमा असारसम्मकै भुक्तानी हुने उनले बताए । चालु आर्थिक वर्षको भने बजेटमा भएको व्यवस्थाअनुसार अगाडि बढ्न उनले बताए ।

अहिलेको विषय परिस्थितिमा उक्त निर्णयले एकसाथ साढे १० अर्ब रुपैयाँ बजारमा गएको छ । बैंकहरुले ऋणीलाई ब्याज अनुदान रकम भुक्तानी गरिसकेको भए बैंकहरुलाई यसले थप सहज हुने र बैंकहरुले भुक्तानी गर्न बाँकी रहेको भए तिहार र छठ अगाडि नै ऋणीको खातामा ब्याज अनुदानको ठूलो रकम एक साथ जम्मा हुने उनले बताए । यसले आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्ने पौडेल बताउँछन् । उक्त ब्याज अनुदान भुक्तानीले सहुलियतपुर्ण कर्जा लिएको ९८ हजार ऋणीले एकसाथ राहत महसुस गर्ने उनले बताए ।

Skip This