
काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । सुन तस्करी प्रकरणमा उनी पक्राउ परेका हुन् ।
चिनियाँ संगठित गिरोहसँग मिलेर सुन तस्करी गरेको आरोप लागेका पूर्वसभामुख महरामाथि अनुसन्धान भइरहेको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले आइतबार महरालाई पक्राउ गरेको हो ।
विद्युतीय चुरोट (भेप)मा लुकाएर ३ वर्षअघि सुन तस्करी गराएको प्रकरणमा प्रहरी र जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंबाट सिलसिलेवार रुपमा उन्मुक्ति पाएका महरामाथि अख्तियारले पनि अनुसन्धान अघि बढाएको थियो ।
पूर्वसभामुख कृष्णबहादुर महरालाई यसअघि २०८० चैत ५ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सोही सुन तस्करी प्रकरणमा पक्राउ गरेको थियो । कपिलवस्तुबाट पक्राउ गरी काठमाडौं ल्याएपछि अदालतको आदेशअनुसार उनलाई पाँच दिनसम्म प्रहरी हिरासतमा राखिएको थियो । तर, सो अवधिभित्र मुद्दा नचलाई प्रहरीले उनलाई रिहा गरेको थियो।
यसै प्रकरणमा महराका छोरा राहुल महरा पहिले नै पक्राउ परेका थिए। उनले इलेक्ट्रोनिक सिगरेट (भेप) मार्फत ९ किलो सुन तस्करी गरेको अभियोग लागेको छ। अनुसन्धानका क्रममा राहुलको सो सुन तस्करीमा संलग्न एक चिनियाँ नागरिकसँग सम्पर्क रहेको र उक्त सुन विमानस्थल भन्सार कार्यालयबाट छुटाउनका लागि सम्बन्धित कर्मचारीलाई फोन गरेको प्रमाण फेला परेको छ।








प्रतिक्रिया