
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको माधवनारायण नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रलब कायस्थसहित तीन जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगका अनुसार कायस्थसँगै लेखापाल रामबलम प्रसाद यादव र रौतहट एडभर्टाइजिङ एजेन्सीका अध्यक्ष अजित कुमार कर्णविरुद्ध २ लाख ५७ हजार ९७० रुपैयाँ बिगो माग दाबी गरिएको छ।
माधवनारायण नगरपालिका–३, सखुअर्वास्थित देवी माध्यमिक विद्यालयको भवन निर्माणमा अनियमितता भएको ठहरपछि उनीहरूविरुद्ध मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।
भवन निर्माणका लागि बोलपत्र आह्वान र स्वीकृतिको सूचना राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्ने कानुनी व्यवस्था हुँदाहुँदै, सो प्रक्रिया नअपनाई आपसी मिलोमतोमा गैरकानुनी लाभ लिएको आयोगले निष्कर्ष निकालेको छ।
आरोपपत्रमा उनीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(१)(ङ) बमोजिम कैद र जरिवानाको सजाय माग गरिएको उल्लेख छ।








प्रतिक्रिया