
काठमाडौं । सरकारले पूर्वप्रधानमन्त्रीको हैसियतमा नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नियमविपरीत राखेको सुरक्षाकर्मी फिर्ता गरेपछि उनलाई पूर्वजनमुक्ति सेनाले सुरक्षा दिन थालेको छ ।
गृहमन्त्री ओमप्रकाश अर्याललको अध्यक्षतामा बिहीबार गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले स्वीकृत मापदण्डविपरीत बहालवाला र पूर्वपदाधिकारीका लागि खटाइएका सबै अतिरिक्त सुरक्षाकर्मी फिर्ता गर्ने निर्णय गरेको हो ।
पूर्वप्रमको सुरक्षार्थ बढीमा १८ जना सुरक्षाकर्मी खटाउने व्यवस्थाविपरीत पूर्वप्रम प्रचण्डको सुरक्षार्थ ५४ जना सुरक्षाकर्मी खटाइएका थिए । मन्त्रालयले प्रचण्डको सुरक्षार्थ खटाइएका ३४ जना अतिरिक्त सुरक्षाकर्मी फिर्ता गराउने निर्णय गरेको हो ।
नेकपा माओवादी केन्द्रका नेता तथा योङ्ग कम्युनिस्ट लिग (वाईसीएल)का इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’ले
प्रचण्डको सुरक्षार्थ खटिएको सुरक्षा टोली आज बिहान १० बजेबाट फिर्ता गरिएको जनाए । थोरै संख्याका सुरक्षाकर्मी रहेको र बाँकी सुरक्षा वाइसीएल र पूर्वजनमुक्ति सेनाले गरिरहेको सापकोटाले जनाकारी दिए ।
‘बाहिर मिडियामा आएको जस्तो मापदण्ड विपरित सुरक्षाकर्मी थिएनन् । बृहत शान्ति सम्झौताअनुरूप राज्यले दिने विशेष सुरक्षा व्यवस्था मात्रै थियो,’ उनले भनेका छन्, ‘सरकारको तजबिजीमा हुने यस्तो व्यवस्था मापदण्ड विपरीत होइन । यो सरकारले त्यो सुरक्षा नदिने भनेपछि फिर्ता गरीएको हो ।’








प्रतिक्रिया