संयुक्त राष्ट्रसंघका उच्च पदस्थ प्रतिनिधिसँग सञ्चारमन्त्रीको छलफल

0
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले संयुक्त राष्ट्रसंघका उच्च पदस्थ प्रतिनिधिहरूसँग भेटवार्ता गरेका छन् ।

मन्त्रालयमा विहीबार सम्पन्न सो भेटवार्तामा संयुक्त राष्ट्रसंघकी नेपालका आवासीय संयोजक हन्ना सिङ्गर, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) की आवासीय प्रतिनिधि क्योको योकोसुका, र संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (यूनेस्को) का प्रतिनिधि जाको डु ट्युइट सहभागी थिए ।

मन्त्रीले प्रतिनिधिमण्डललाई स्वागत गर्दै नेपाल सरकारप्रति संयुक्त राष्ट्रसंघले पुर्याउँदै आएको सहयोगप्रति धन्यवाद ज्ञापन गरे । उनले भन‍े,’अहिले बनेको सरकार सबै पक्ष, क्षेत्र र वर्गको अनुमोदन प्राप्त सरकार हो । आगामी फागुन २१ गते तोकिएको निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउनका लागि आवश्यक गृहकार्य सुरु भइसकेको छ । आगामी निर्वाचन सफल बनाउनका लागि संयुक्त राष्ट्रसंघलगायत विकास साझेदारहरूको सकारात्मक सहयोगको अपेक्षा सरकारले गरेको छ ।’

मन्त्री खरेलले विपद् व्यवस्थापनमा संयुक्त राष्ट्रसंघका निकायहरूले पुर्याएको सहयोगको उच्च प्रशंसा गरे । साथै, डिजिटल रूपान्तरण, मिडिया साक्षरता प्रवद्र्धन, र सुशासन सुधारका क्षेत्रमा नेपाल सरकार र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमबीच सहकार्य गर्ने विषयमा विस्तृत छलफल भएको छ ।

त्यस अवसरमा संयुक्त राष्ट्रसंघकी आवासीय संयोजक हन्ना सिङ्गरले हालै नेपाल सरकारले विपद् व्यवस्थापनमा देखाएको तत्परता र नेतृत्वको प्रशंसा गर्दै भनिन् , ‘नेपाल सरकारले संकटको समयमा देखाएको संयम र समन्वय प्रशंसनीय छ । हामी तोकिएकै समयमा हुने निर्वाचनलाई निष्पक्ष र सफल बनाउन आफ्ना तर्फबाट सकारात्मक सहयोग पुर्याउन प्रतिबद्ध छौं ।’

यूएनडीपीकी आवासीय प्रतिनिधि क्योको योकोसुकाले पनि नेपाल सरकारसँगको सहकार्यलाई अझ सुदृढ बनाउने इच्छा व्यक्त गर्दै भने’डिजिटल रूपान्तरण र मिडिया साक्षरताको क्षेत्रमा नेपालसँगको साझेदारीलाई अझ सशक्त बनाउन हामी इच्छुक छौं ।’

यूनेस्कोका प्रतिनिधि जाको डु ट्युइटले सञ्चार र शिक्षा क्षेत्रलाई सुदृढ बनाउन नेपालसँगको सहकार्य निरन्तर जारी रहने बताए ।