
काठमाडौं । गाजामा विगत दुई वर्षदेखि चलिरहेको युद्ध रोक्नका लागि अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले अघि सारेको शान्ति योजनाको पहिलो चरण अन्तर्गत बन्दी साटासाट गर्ने र इजरायली सैनिकहरूलाई पछि हटाउने विषयलाई इजरायली मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ ।
यसले युद्धविरामको सम्भावना बलियो बनाएको छ ।
यस युद्धविरामलाई स्थायी शान्तिमा परिणत गर्ने चुनौती छ । तथापि, तत्कालका लागि इजरायलले गाजामा रहेका प्यालेस्टाइनीहरूमाथिको आक्रमण रोकेर गाजावासीले अत्यावश्यक वस्तुमा पहुँच पाउने अवसर आउनु पनि आफैंमा ठूलो कुरा हो ।
हमासले कब्जामा राखेका नेपालका विपिन जोशी लगायतका ४८ बन्दीहरूको रिहाइ नहुन्जेल र हमासलाई पूर्ण रूपमा ध्वस्त नपारुन्जेल आक्रमण नरोक्ने अड्डी लिएका इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले ट्रम्पको दबाब थेग्न नसकेपछि शान्ति योजनालाई स्वीकृति दिएका हुन् ।
उनले चलाइरहेको गठबन्धन सरकारका उग्रदक्षिणपन्थी साझेदारहरूले युद्धविरामलाई अस्वीकार गर्ने अभिव्यक्ति दिइरहेको भए पनि ट्रम्पको शान्ति योजनाले इजरायलका मागहरू पूरा गरेको भन्दै नेतान्याहुले त्यसको पालन गर्ने बताएका हुन् ।
इजिप्टमा इजरायल र हमासबीच भएको अप्रत्यक्ष वार्तामा युद्धविरामको सहमति बनेको हो । ट्रम्पको शान्ति योजनामा इजरायल र हमासले हस्ताक्षर गरेलगत्तै पूर्ण युद्धविरामको घोषणा गरिनेछ ।
ट्रम्प स्वयम् इजरायल गएर हस्ताक्षर तथा युद्धविराम घोषणा समारोहमा सहभागी हुने बताइएको छ ।
त्यसलगत्तै हमासले ७२ घन्टाभित्र करिब २० जना जीवित बन्दीलाई रिहा गर्नुपर्नेछ र मृत बन्दीहरूको शरीर पनि बुझाउनुपर्नेछ । तर, मृत बन्दीहरूको शरीर विभिन्न ठाउँमा छरिएर रहेकाले तिनलाई खोज्न समय लाग्नेछ ।
द टाइम्स अफ इजरायलका अनुसार, बन्दीहरूको शरीर पत्ता लगाउनका लागि बहुराष्ट्रिय कार्यदल गठन गरिनेछ । त्यसमा इजरायलसँगै अमेरिका, कतार, इजिप्ट र टर्की रहनेछन् ।

हमासले बन्दी बनाएका मानिसको रिहाइसँगै इजरायलले आजीवन कारावास सजाय भोगिरहेका लगभग २५० जना प्यालेस्टाइनीहरूका साथै युद्ध सुरु भएपछि हिरासतमा लिइएका करिब १७ सयजना गाजावासीलाई रिहा गर्नेछ ।
यी त सजिला काम भए । हमासलाई पूर्ण रूपमा निःशस्त्र गरेर गाजाको शासनसत्ताबाट हटाउनु चाहिँ अप्ठ्यारो काम हो । हमासले आफ्ना सबै हतियार बिसाएर संगठन नै भंग गर्नुपर्ने इजरायलको माग छ । ट्रम्पको शान्ति योजनाको एउटा बुँदा यसमा केन्द्रित छ । तर, हमासले यस विषयमा स्पष्ट धारणा दिएको छैन ।
हमासले आफ्ना हतियार त्याग्ला जस्तो लाग्दैन । हदैसम्म भए उसले लामो र छोटो दूरीका क्षेप्यास्त्रहरू त्याग्ला तर साना र हलुका हतियारहरू त्याग्ने छैन । त्यस्तै उसले वर्षौंको मेहनत बनाएको जटिल भूमिगत सुरुङको नक्सा पनि हस्तान्तरण गर्ला जस्तो लाग्दैन ।
सन् २००७ देखि गाजामा शासन चलाइरहेको हमास सत्ताच्युत भएपछि त्यसको ठाउँमा प्राविधिक गैरराजनीतिक प्यालेस्टाइनी समितिले शासन चलाउने ट्रम्पको शान्ति योजनामा उल्लेख गरिएको छ । त्यो समिति गठन भएर त्यसले शासन चलाउनुअघि संक्रमणकालीन शान्ति परिषद्ले गाजामा हमासको निःशस्त्रीकरण पहलको सुपरिवेक्षण गर्नेछ। त्यस परिषद्को अध्यक्षता ट्रम्पले गर्नेछन् र बेलायतका पूर्व प्रधानमन्त्री टोनी ब्लेयर त्यसको सदस्य रहनेछन् ।
आफ्ना हतियारहरू सुम्पिने हमास सदस्यहरूलाई क्षमादान दिइनेछ र गाजा छोडेर जान चाहनेलाई सुरक्षित यात्राको सुनिश्चितता गरिनेछ ।

त्यसपछि इजरायलले गत जनवरीदेखि मार्च महिनामा भएको अस्थायी युद्धविरामका बेलामा कायम गरेको सीमाविन्दुमा आफ्ना सैनिकहरूलाई तैनाथ गर्नेछ । त्यसपछि गाजाको सुरक्षाका लागि अरब मुस्लिमहरूको सुरक्षाबल गठन गरिने र इजरायल गाजाबाट पूर्ण रूपमा बाहिरिने योजना छ ।
साउदी अरब, यूएई, इजिप्ट, जोर्डन, कतार, टर्की र इन्डोनेसियाले उक्त सुरक्षाबल गठनमा योगदान गर्नेछन् । उनीहरूले नयाँ प्यालेस्टाइनी प्रहरी बललाई प्रशिक्षण दिनेछन् । त्यस प्यालेस्टाइनी बलले गाजामा कानून व्यवस्था कायम गराउनुका साथै नागरिकको सुरक्षा सुनिश्चित गराउनेछ ।
त्यस्तो प्रहरी बल गठन गराइहाल्नुपर्ने हुन्छ किनकि गाजामा आमनागरिकलाई हमासले सुरक्षा प्रदान गरी स्थिरता कायम गर्न सहयोग गर्दै आएको छ र उसको अभावमा अस्थिरता फैलिने सुनिश्चित छ ।
गाजामा हमास सबभन्दा ठूलो लडाकु समूह हो भने प्यालेस्टाइनियन इस्लामिक जिहाद, द पपुलर फ्रन्ट फर द लिबरेशन फर प्यालेस्टाइन र अल–अक्सा मार्टर्स ब्रिगेड जस्ता समूह पनि सक्रिय छन् ।
इजरायललाई अतिक्रमणकारी शक्ति मान्ने प्यालेस्टाइनीहरूले उसलाई विस्थापित गर्ने लक्ष्यलाई सहजै त्याग्ने छैनन् र हमास भंग भएछ भने पनि ती अन्य समूहमा आबद्ध भएर वा नयाँ समूह बनाएर इजरायलको प्रतिरोध गरिरहने सम्भावना छ ।

त्यसैले ट्रम्पको शान्ति योजनाबमोजिम गाजामा युद्धविराम त होला, स्थायी शान्ति आउन निकै मुश्किल छ । तर, ट्रम्पले काम गर्ने तरिका नै यही हो । असम्भव जस्तो लाग्ने भव्य योजना बनाउने र त्यसअन्तर्गत हासिल गर्न सकिने लक्ष्यमा केन्द्रित हुने उनको आर्ट अफ द डिलको विधि रहिआएको छ ।
त्यो कुरा बुझेको हमासले पनि चातुर्य देखाउँदै आफ्नो अडानलाई लचिलो बनायो । उसले युद्धविरामका लागि सबै बन्दीहरू रिहा गर्न मान्यो र इजरायली सेनालाई गाजाबाट तत्कालै पूर्ण रूपमा हटाउनुपर्ने माग पनि फिर्ता लियो । तर, ट्रम्पको शान्ति योजनामा रहेका अन्य विवादास्पद प्रावधानहरूलाई उसले सोलोडोलो स्वीकार नगरिकन त्यसमा छलफल गर्ने बतायो । त्यति गर्दा मात्र पनि ट्रम्पले इजरायललाई तत्कालै युद्धविराम गर्नका लागि दबाब दिए ।
नेतान्याहुले अमेरिकाका सबै राष्ट्रपति आफ्नो मुट्ठीमा रहेको र आफूले जे भन्यो त्यही गर्ने गरेको भनी दम्भ गर्दै आएका थिए । बाराक ओबामासँग त यस विषयमा उनको झगडा नै परेको थियो । तर, ट्रम्प जस्ता कसैलाई पनि नगन्ने अहंकारी, आत्मकेन्द्रित र शक्तिशाली व्यक्तिलाई उनले आफ्नो इशारामा नचाउन सक्दैनथिए । ‘तिमी सधैं नकारात्मक सोच्छौ’ भनेर ट्रम्पले नेतान्याहुलाई हप्काएका पनि हुन् । त्यसमाथि इजरायलले एक महिनाअघि कतारमा क्षेप्यास्त्र आक्रमण गरेको घटनाले ट्रम्पलाई आक्रोशित तुल्याएको देखिन्छ ।
कतारमा रहेका हमासका प्रतिनिधिलाई लक्षित गर्दै इजरायलले आक्रमण गर्दा एकजना कतारी नागरिकको समेत मृत्यु भयो । कतारले यसलाई आफ्नो सार्वभौमसत्तामाथिको आक्रमणका रूपमा लिँदै निकै आपत्ति जनायो ।
त्यसपछि अमेरिका पुगेका नेतान्याहुलाई ट्रम्पले आफ्नो उपस्थितिमा सार्वजनिक रूपमा फोन गरेर कतारसँग माफी माग्न लगाए । उनले कतारलाई नेटोको जस्तो सुरक्षा प्रत्याभूति दिँदै कतारमाथिको आक्रमणलाई अमेरिकामाथिको आक्रमण मानिने र त्यसको फौजी जवाफ समेत फर्काउन सकिने बताए । हुन त इरानलाई लक्षित गरी उनले कतारलाई यो यस्तो सुरक्षा व्यवस्था दिएका हुन् तर त्यसले इजरायललाई समेत कतारविरुद्ध कदम नचाल्न दबाब दिएको छ । ट्रम्पले नेतान्याहुलाई युद्धविरामका लागि दबाब दिनका लागि अन्तर्राष्ट्रिय परिस्थिति पनि त्यसैअनुरूप विकसित भइरहेको थियो।
हमासले सन् २०२३ अक्टोबर ७ मा इजरायलमा आक्रमण गरी करिब १२ सयको हत्या र करिब २५० जनालाई बन्दी बनाएपछि इजरायलले गाजामा गरेको आक्रमणमा परी ६७ हजारभन्दा बढी मानिसको हत्या भइसकेको छ । त्यसमा करिब २० हजार त बालबालिका मात्र छन् । यसलाई संयुक्त राष्ट्रसंघ सहित विभिन्न अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाहरूले नरसंहार भनेका छन् ।
नेतान्याहुका विरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले पक्राउपुर्जी समेत जारी गरिसकेको छ । त्यससँगै अमेरिकाका साझेदार बेलायत, फ्रान्स र बेल्जियम लगायतका पश्चिमी मुलुकहरूले प्यालेस्टाइनलाई बेग्लै राज्यको मान्यता दिने घोषणा गरिसकेका छन्।

हमासले बन्दी बनाएर राखेका मानिसलाई फौजी कारवाहीमार्फत रिहा गराउनका लागि इजरायलले प्रयास गरेको भए पनि स्वयं इजरायली सेनाप्रमुख पनि गाजा शहरमा महिनौंसम्म आक्रमण गरेमा मात्र त्यो सम्भव रहेको र त्यसक्रममा थप इजरायलीको मृत्यु हुन सक्ने धारणा राख्छन् ।
रक्तपात जारी रहँदा इजरायललाई बाँकी विश्वले बहिष्कार गरी एक्ल्याउँदै जाने र अमेरिकाको छवि पनि धुमिल हुँदै जाने खतरा बढिरहेको थियो ।
त्यसमाथि ट्रम्पले प्रतिनिधित्व गर्ने अमेरिकाको दक्षिणपन्थी धारका युवा सदस्यहरूका साथै ट्रम्पका कट्टर समर्थकहरू समेत इजरायली युद्ध तथा त्यसमा अमेरिकाले गरिरहेको सहयोगको खुलेर विरोध गर्न थालेका छन् । टकर कार्लसन, क्यान्डेस ओवेन्स र जो रोगन जस्ता दक्षिणपन्थी इन्फ्लुएन्सरहरू प्यालेस्टाइनीको नरसंहार गरेको भन्दै इजरायलको आलोचना गरिरहेका छन् । यस्तो अवस्थामा ट्रम्पले आफ्ना समर्थकको सद्भाव गुमाउन चाहेका छैनन् र नेतान्याहुलाई युद्धविरामका लागि उनले दबाब दिएका हुन् । यस वर्षको नोबेल शान्ति पुरस्कारको घोषणा हुनुअघि गाजामा युद्धविराम हुँदा कतै त्यो पुरस्कार जित्न सकिन्छ कि भनी ट्रम्पले आशा गरेका हुन सक्छन् यद्यपि उक्त समितिले ट्रम्पलाई पुरस्कार नदिने संकेत दिएको छ ।
ट्रम्पको दबाबमा युद्धविराम भए पनि उनको शान्ति योजनाका अन्य बुँदाको कार्यान्वयन कठिन छ ।
इजरायली सैनिकहरूले गाजाको करिब ५३ प्रतिशत भूभागमा नियन्त्रण कायम गरेका छन् । बाँकी ४७ प्रतिशतमा हमासको नियन्त्रण छ ।
हमासले सजिलै निःशस्त्र भएर गाजाको शासनसत्ता सुम्पेला जस्तो लाग्दैन । इजरायलले दुई वर्षको युद्धमा पनि हमासलाई पराजित गर्न नसकेको स्थितिमा हमासले निःशस्त्र हुने र संगठन नै भंग गर्ने प्रस्ताव स्वीकार गर्ने सम्भावना न्यून छ । हमास पूर्ण रूपमा निःशस्त्र नहुन्जेल इजरायलले गाजा छोडेर जाने सम्भावना छैन ।
त्यससँगै गाजामा विदेशीहरूको नेतृत्वमा रहेको शान्ति परिषद्प्रति प्यालेस्टाइनीहरूको विश्वास रहने सुनिश्चितता छैन । ट्रम्पले गाजावासीहरूलाई हटाएर त्यहाँ विलासी शहर बनाउने योजना विगतमा सार्वजनिक गरेकाले गाजावासीहरूमा अझै पनि विस्थापनको डर विद्यमान छ ।

दुई वर्षअघि युद्ध सुरु भएपछि दुईपटक अस्थायी युद्धविराम भएको थियो । तर, त्यो टिक्न सकेन र मान्छे मर्ने क्रम जारी रह्यो । त्यसैले अहिलेको युद्धविराम स्थायी शान्तिमा परिणत हुने आशा गर्न त सकिन्छ तर भर पर्न चाहिँ सकिँदैन ।
कतार, इजिप्ट र टर्कीको दबाबमा बन्दी रिहा गरेर हमासले इजरायलसँगको लेभरेज गुमाए पनि इजरायलको प्रतिरोध गर्ने प्यालेस्टाइनीहरू आफ्नो पक्षमा रहिरहने र आफ्नो जटिल सुरुङ संरचनाका साथै हतियारको निरन्तर आपूर्तिको बलमा इजरायलसँग लडिरहने सोच हमासले बनाएको हुन सक्छ ।
जे होस्, हमासको कब्जामा रहेका बन्दीको रिहाइ र भोकमरीबाट पीडित भएका प्यालेस्टाइनीहरूलाई खाद्यान्न लगायतका सहयोगका लागि युद्धविरामले बाटो खोल्ने भएकाले ट्रम्पको पहल स्वागतयोग्य छ।







प्रतिक्रिया