
एजेन्सी । अमेरिकाको दक्षिण क्यारोलाइना राज्यको सर्किट कोर्टकी न्यायाधीश डायन गुडस्टाइनको घरमा शनिवार आगलागी भएको छ ।
आगलागीमा परेर तीनजना व्यक्ति घाइते भई अस्पतालमा भर्ना भएको बताइएको छ ।
मध्याह्नतिर समुद्र किनार एडिस्टो बीचस्थित घरमा आगो लागेपछि न्यायाधीशका पति पूर्व डेमोक्रेटिक सिनेटर आर्नोल्ड गुडस्टाइन पहिलो तल्लाबाट हाम्फालेर भागेका थिए ।
घटना हुँदा न्यायाधीश गुडस्टाइन घरमा थिइनन् । उनी समुद्र किनारमा डुलिरहेकी थिइन् । तर, उनको परिवारका सदस्यहरू घरैमा थिए । तीमध्ये आर्नोल्ड र अन्य दुईजनालाई छिमेकी र पारामेडिकहरूले उद्धार गरेका थिए ।
एकजनालाई हवाई उद्धार गरेर मेडिकल युनिभर्सिटी लगिएको थियो भने अन्य दुईलाई सडकमार्गबाट लगिएको थियो ।
आर्नोल्डको नितम्ब र गोडाका हाड भाँचिएकाले हेलिकप्टरमा राखेर अस्पताल लग्नुपरेको बताइएको छ ।
चारवटा बेडरुम र चारवटा बाथरुम भएको उक्त घरका मूल्य ११ लाख ५५ हजार २०० डलर पर्छ ।
न्यायाधीश गुडस्टाइनलाई केही दिनयता ज्यान मार्ने धम्की आइरहेको बताइएको छ ।
सेप्टेम्बर महिनामा गुडस्टाइनले दक्षिण क्यारोलाइनाका मतदाताहरूको व्यक्तिगत विवरण सरकारलाई दिन मिल्छ कि मिल्दैन भन्ने विवादास्पद मुद्दाको सुनुवाइ गरिरहेकी थिइन् । उनले गरेको फैसलालाई सर्वोच्च अदालतले उल्ट्याइदिएको थियो र सर्वोच्चले उनको आलोचना पनि गरेको थियो ।
डेमोक्रेटिक पार्टीसँग लगाव रहेकाले गुडस्टाइनले अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पका एजेन्डाविरुद्ध फैसला गर्ने गरेको आलोचकहरू आरोप लगाउँछन् ।
राष्ट्रपति ट्रम्पले असिस्टेन्ट अटोर्नी जनरल फर सिभिल राइट्सका रूपमा नियुक्त गरेकी हरमीत ढिल्लोंले न्यायाधीश गुडस्टाइनलाई एक महिनाअघि धम्की दिएकी थिइन् । ट्रम्पका सल्लाहकार स्टिफन मिलरले उग्रवामपन्थी डेमोक्रेट न्यायाधीशहरूले वामपन्थी आतंकवादलाई संरक्षण गरिरहेको टिप्पणी गरेका थिए ।
प्रहरीले यो आगजनीको घटना हुन सक्ने भनी अनुसन्धान थालेको छ ।
दक्षिण क्यारोलाइनाकी मूल निवासी गुडस्टाइन सन् १९९८ मा पहिलोपटक सर्किट कोर्टको न्यायाधीशमा निर्वाचित भएकी थिइन् । उनका पति आर्नोल्डले दक्षिण क्यारोलाइनाबाट हाउस र सिनेट दुवैमा प्रतिनिधित्व गरिसकेका छन् ।







प्रतिक्रिया