
काठमाडौं । नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडान गर्ने एयरवसको ए३२० २००० सिरिजको न्यारोबडी जहाजबाट काठमाडौं–भैरहवाको दुईतर्फी उद्धार उडान गर्ने भएको छ । निगमले देशमा बाढी र पहिरोका कारण सिर्जित विषम परिस्थितिलाई ध्यानमा राखेर यस्तो उद्दार उडान गर्न लागेको हो ।
निगमले सरकारको विशेष निर्देशन तथा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको सक्रियतामा आज असोज २० गते एक उद्धार उडान सञ्चालन गर्न लागेको निगमका प्रवक्ता सुवास डाँगीले बताए ।
उनका अनुसार १५८ सिटको न्यारोबडी विमानबाट आज दिनको १ बजेका लागि उडान तय भएको छ । यो उडानमा अशक्त, वृद्धवृद्धा, बिरामी तथा अत्यावश्यक यात्रुहरूलाई विशेष प्राथमिकतामा राखिने भएको छ । यही उडान भैरहवाबाट २ बजेर ४५ मिनेटमा काठमाडौै फर्कने भएको छ ।
यो उडानमा यात्रा गर्न चाहनुहुने यात्रुहरूले समयमै अनलाइन प्रणाली, निगमको कार्यालय वा आधिकारिक एजेन्सीहरू मार्फत आफ्नो सिट सुनिश्चित (टिकट जारी) गरिदिनु हुन पनि निगमले आग्रह गरेको छ । निगमले काठमाडौंबाट भैरहवा जाँदा प्रतियात्रु ५ हजार र फर्कदा ७ हजार रुपैयाँ मात्रै भाडा लिने भएको छ ।
यही सेक्टरमा निजी वायुसेवाका भाडादर अहिले ५२ सय रुपैयाँदेखि ८४ सय रुपैयाँसम्म तय गरेका छन् । निजी वायुसेवाले नियमित सेवा दिन्छन भने निगमको भने एउटा उडान मात्रै हुन लागेको हो ।







प्रतिक्रिया