
काठमाडौं । असोज १७ र १८ गतेको अविरल वर्षाबाट देशका धेरै स्थानमा बाढी र पहिरोको विनाशकारी प्रभाव देखिएको छ । अहिलेसम्म देशभर ५३ जनाको मृत्यु भएको पुष्टि भएको छ भने सयौं परिवार विस्थापित भएका छन् । देशका धेरै राजमार्ग तथा ग्रामीण सडक पहिरोका कारण अवरुद्ध छन्, कतिपय ठाउँमा खोला–नालाले सडक र बस्ती कटान गरेका छन् ।
सबैभन्दा बढी क्षति इलाममा भएको छ, जहाँ पहिरोका कारण ३७ जनाले ज्यान गुमाएका छन् । केही दिनअघि मात्र पुनःनिर्माण गरिएको भनिएको बीपी राजमार्ग पुनः पहिरोले काटिएको छ, जसले देशको पूर्व–पश्चिम यातायातमा ठुलो चुनौती थपेको छ । पहाडी जिल्लाका बस्ती र सडकहरुमा व्यापक क्षति पुगेको छ, जसले पुनः ‘हामीले पाठ सिक्यौं कि सिकेनौं ?’ भन्ने प्रश्न उठाएको छ ।
यातायात विज्ञ आशिष गजुरेलका अनुसार हरेक वर्ष दोहोरिने यस्तो विपत्तिको मूल कारण हाम्रो नियोजनहीन विकास र जोखिमप्रतिको बेवास्ता हो । ‘भू–गर्भीय जोखिम पहिचान नगरी जता मन लाग्यो त्यहीँ बस्ती बसाउने, पहाड काटेर घडेरी निकाल्ने, खोलाको जमिन अधिग्रहण गर्ने र खोला नियन्त्रणको नाममा अनियन्त्रित संरचना बनाउने प्रवृत्तिले समस्या झन् बढाएको छ,’ उनले भने ।
गजुरेलका अनुसार सडक निर्माणमा पनि वैज्ञानिक दृष्टिकोणको अभाव छ । ‘सडक बनाउँदा भू–गर्भीय अध्ययन नगरी जथाभावी पहाड काट्ने र त्यसलाई कालोपत्रे गर्नुलाई नै विकास ठानिन्छ,’ गजुरेलले भने, ‘तर त्यही विकास नै भोलि जनजीवनका लागि जोखिम बन्छ ।’
विपत्तिबाट सिक्ने समय आएको भन्दै उनले अबका दिनमा ठोस र प्राविधिक निर्णय आवश्यक रहेको बताए । ‘प्राविधिक मन्त्रालयको मन्त्री प्राविधिक पृष्ठभूमिका हुनुपर्छ,’ गजुरेलको सुझाव छ, ‘अहिले भएका सडकहरूको अध्ययन गरेर तत्कालै जोखिमयुक्त सडक बन्द गर्नुपर्छ, अन्य सडकमा वैज्ञानिक सुधारको योजना बनाउनुपर्छ ।’
उनका अनुसार सडक सुधारमा व्यापक लगानी गर्नुका साथै डाँडाकाडामा रहेका बस्तीहरूको भू–गर्भीय जोखिम मूल्यांकन गरी आवश्यक परे सुरक्षित स्थानमा सार्नुपर्नेछ । ‘जोखिम घटाउनेतर्फ लगानी नगरेसम्म हरेक वर्ष यस्ता घटनामा जनधनको क्षति दोहोरिरहन्छ,’ उनले चेतावनी दिए ।
यसर्थ अबको विकासको बाटो ‘प्राकृतिक जोखिमसँग सहअस्तित्वमा आधारित’ हुनुपर्छ, नत्र विकासका नाममा भइरहेको अव्यवस्थित निर्माणले हरेक वर्ष देशलाई नयाँ विपत्तितिर धकेलिरहने उनको दाबी छ ।







प्रतिक्रिया