अमेरिकाले बनायो संसारको कुनै पनि ठाउँमा एक घन्टामै सामान पुर्‍याउन सक्ने यान

945
Shares

एजेन्सी । अमेरिकाको एयरोस्पेस तथा रक्षा कम्पनी इन्भर्जनले पृथ्वीको कुनै पनि ठाउँमा एक घन्टाभन्दा पनि कम समयमा २२७ किलो सामान पुर्‍याउन सक्ने यान तयार पारेको छ ।

आर्क नाम दिइएको यस यानलाई फ्याक्ट्री इभेन्टमा सार्वजनिक गरिएको हो । इन्भर्जन कम्पनीका सहसंस्थापक जस्टिन फियास्केटी र अस्टिन ब्रिग्सले यो नयाँ लजिस्टिक्स प्लेटफर्म भएको बताएका छन् । यसले अन्तरिक्षमा सञ्जाल बनाएर पृथ्वीलाई पहिलेको भन्दा बढी एक्सेसिबल बनाउने उनीहरूले दाबी गरेका छन् ।

यसको गति २४ हजार ७०० किलोमिटर प्रतिघन्टा हुनेछ । अन्तरिक्ष यानको तुलनामा यो सानै हुन्छ । आठ फीट अग्लो र चार फीट चौडाइ भएको यो यानले स्वास्थ्य उपकरणका साथै औषधिहरू बोक्नेछ ।

यसलाई अन्तरिक्षमा पठाएर पृथ्वीमा रिएन्ट्री गर्ने विधिअनुसार बनाइएको छ । त्यसक्रममा यसले आफैंलाई नियन्त्रण गर्न सक्छ र प्याराशुटको सहायताविना धावनमार्गमा अवतरण गर्न सक्छ ।

यसमा सामान मात्र बोक्न मिल्छ, अन्तरिक्षयात्री लैजानका लागि यो बनाइएको हैन । यो पुनः प्रयोग गर्न पनि मिल्छ र यो सटीक अवतरण पनि गर्न सक्छ ।

यो निकै सस्तो पनि छ । यसका अनेकौं परीक्षण पनि गरिसकिएको छ ।

इन्भर्जन कम्पनीले आर्कलाई पृथ्वीको अर्बिटमा पाँच वर्षसम्म राख्न खोजेको छ । आवश्यकता पर्दा यसले पृथ्वीको एक ठाउँबाट अर्को ठाउँमा जम्मा एक घन्टामा सामान पुर्‍याइदिनेछ ।