
एजेन्सी । रुसले उत्तरी ध्रुवमा रहेको नर्दन सी रुटको उपयोग गर्नका लागि रुसले भारतलाई निम्तो दिएको छ ।
अहिले उत्तरी ध्रुवमा भारतको सानो तर स्थायी उपस्थिति छ । तर, भारतले उत्तरी ध्रुवको विशाल प्राकृतिक स्रोतको दोहन गर्नका लागि उपस्थिति बढाउन खोजेको छ ।
उत्तरी ध्रुवको रुसी क्षेत्रमा नयाँ आवागमन करिडोर बनाउनका लागि भारतलाई रुसले सहभागी गराउन खोजेको छ । त्यसका विषयमा अहिले छलफल चलिरहेको एनडीटीभीले समाचार प्रकाशन गरेको छ ।
संसारमा भूराजनीतिक र जलक्षेत्रीय अस्थिरता बढिरहेको बेलामा उत्तरी ध्रुवको बाटो भएर मालवाहक जहाज ओहोरदोहोर गराउने विषयमा रुसीहरूले प्रयास गरिरहेका छन् । त्यो बाटो खुलेपछि विश्व व्यापारमा आमूल परिवर्तन आउनेछ ।
उत्तरी सागरको रुसी किनारा हुँदै जाने जलमार्ग स्वेज नहर जस्ता परम्परागत मार्ग भन्दा ४० प्रतिशत छोटो छ । यसमार्फत युरेसिया र एसिया प्रशान्त क्षेत्रमा सस्तो मूल्यमा छिटो र सुरक्षित रूपमा माल ढुवानी गर्न सकिनेछ ।
रुसको सरकारी आणविक ऊर्जा निकाय रोसातोमको उत्तरी ध्रुव विकासका विशेष प्रतिनिधि भ्लादिमिर पानोभले यस जलमार्गको महत्त्वलाई स्थापित गर्दै भारतलाई पनि त्यसको विकासमा सहभागी गराउने इच्छा रुसले राखेको बताएका थिए ।
भारतले उत्तरी ध्रुवमा हिमाद्री नामक स्थायी अनुसन्धान स्टेशन राखेको छ । त्यो नर्वेको नी आलेसुन्दमा रहेको अन्तर्राष्ट्रिय उत्तरी ध्रुव अनुसन्धान केन्द्रमा राखिएको छ । सन् २००८ मा स्थापना गरिएको उक्त केन्द्रमा भारतले वातावरणीय, महासागरीय र जलवायु परिवर्तन सम्बन्धी अध्ययन गर्दै आएको छ ।
पानोभका अनुसार, रुसले उत्तरी ध्रुवमा आठवटा आणविक आइसब्रेकरहरू तैनाथ गरेको छ । त्यसले वर्षैभरि उत्तरी समुद्रमा आवागमनको सुनिश्चितता गर्छ ।
यस्ता जहाजले जमेर बसेका बरफहरूलाई काटेर सबै किसिमका जहाजको यात्रा सहज बनाउँछन् । केही दिनअघि चिनियाँ जहाजहरूले जम्मा १८ दिनमा उत्तरी समुद्रको यात्रा पूरा गरेका थिए । परम्परागत मार्गको तुलनामा यसले तप्न हप्ताभन्दा बढी समयको बचत गरेको थियो ।








प्रतिक्रिया