
काठमाडौं । धादिङको बेनीघाट रोराङ गाउँपालिका १० स्थित जवाङ खोलामा पहिरो खसेपछि शनिबार बिहानदेखि नागढुंगा–मुग्लिन सडक बन्द भएको छ ।
यस्तै मुग्लिन–नारायणगढ सडक खण्डको तुइन खोला नजिक पहिरो खसेर दुई तर्फीबाटो बन्द गरिएको छ ।
तर यात्रामा जोखिम भएको भन्दै सवारी साधन चलाउन रोक लगाइएको छ । ढुङ्गा खस्ने क्रम जारी छ । यात्रामा जोखिम रहेकाले सवारी आवागमन दुईतर्फी नै रोकेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता रविन्द्र खनालले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय चितवनले सूचना जारी गरी यात्रामा जोखिम भएकाले आज बिहान ६ बजेदेखि गाडी चलाउन रोक लगाइएको जनाएको छ ।
‘चितवनको मुग्लिनस्थित तुइन खोलामा पहिरो लगायतका स्थानहरुमा ढुङ्गा खस्ने क्रम जारी रहेकाले सम्भावित जोखिमलाइ मध्यनजर गर्दै हाललाई (बिहान ६ बजेबाट) चितवनस्थित राजमार्गमा सवारी आवागमन बन्द गरिएको छ,’ जिल्ला प्रहरी कार्यालय चितवनले जारी गरेको सूचनामा लेखिएको छ ।
धादिङ र तनहुँमा रहेको जोखिमयुक्त सडकमा पनि अहिले ६ बजेबाट गाडी चलाउन रोकिएको छ ।
हेटौंडा–काठमाडौं जोड्ने सबै सडक तीन दिनसम्म बन्द
यस्तै वर्षा निरन्तर परिरहेपछि हेटौंडा र काठमाडौं जोड्ने सबै मुख्य तथा वैकल्पिक सडकहरूबाट सवारी सञ्चालनमा रोक लगाईएको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले आज सूचना जारी गर्दै सबै सडक तीन दिनसम्म बन्द रहने जानकारी दिएको हो ।
भारी वर्षाको कारण बाढी र पहिरोको जोमिख बढी रहेकोले विपद् जोखिम न्युनिकरणका लागि १८ गतेदेखि २० गतेसम्म हेटौंडा–काठमाडौं जोड्ने सबै सडक ९अत्यावश्यक बाहेकका सबै सवारीसाधन० पूर्ण रूपमा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले जानकारी दिइन् ।
हेटौंडा र काठमाडौंलाई जोड्न मुख्य चार वटा सडकहरू छन् । देशकै पुरानो हेटौंडा–नौबिसे खण्डको त्रिभुवन राजपथ, ललितपुरको सातदोबाटो जोडिने कान्तिलोकपथ, कुलेखानी–फाखेल–फर्पिङ र कुलेखानी–सिस्नेरी–फर्पिङ सडक हालको अवस्थामा उपयुक्त मार्ग हो ।
त्रिभुवन राजपथ बाहेकका सडकबाट दैनिक १ हजार भन्दा माथि सवारीसाधन सञ्चालन हुने गरेका छन् ।
मकवानपुर प्रशासनले सडक बन्द गरेसँगै जिल्ला प्रहरी कार्यालय मकवानपुरका मातहका कार्यालय सक्रिय भएर मुख्य तथा वैकल्पिक सबै मार्गबाट राजधानी भित्रिन खोज्ने सवारीसाधनलाई धमाधम फिर्ता पठाउन थालेका छन् ।
त्रिभुवन राजमार्गअन्तर्गत हेटौंडा–१ चौकिटोलबाट दुई, चार र छ पाङ्ग्रे सबै प्रकारका सवारीसाधनलाई फर्काउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए ।
यात्राको क्रममा बीच बाटोमा अलपत्र परेका सवारीसाधनहरूलाई पनि प्रहरीले व्यवस्थापन गरिरहेको छ ।







प्रतिक्रिया