पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक खण्ड र मुग्लिन–नागढुंगा सडक खण्ड अवरुद्ध

2.6k
Shares

काठमाडौं । शुक्रबार साँझदेखि पर्न सुरु भएको अविरल वर्षाका कारण पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक खण्डका साथै मुग्लिन–नागढुंगा सडकखण्ड अवरुद्ध भएको छ ।

नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोला र मुग्लिन–नागढुंगा सडक खण्ड अन्तर्गत धादिङस्थित जवाङ खोलामा पहिरो खसेर बाटो अवरुद्ध भएको हो । बाटो दुईतर्फी नै अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले शनिबार विहान सूचना जारी गर्दै चितवन , धादिङ र तनहुअन्तर्गत रहेको सडक खण्डहरु बिहान ६ बजेदेखि रोकिएको जानकारी दिएको छ ।

चितवनको तुइन खोला र धादिङ को जबाङ खोलामा पहिरो जाँदा बाटो अवरुद्ध भएका कारण ति दुवै खण्ड पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

पानी परिरहेको र ढुंगा–माटो झर्ने क्रम जारी रहेकाले पहिरो पन्छाइएको छैन ।

यी सडकखण्डमा पटक–पटक पहिरो खसेर बाटो अवरुद्ध हुँदा यात्रुहरुले सास्ती पाउँदै आएका छन् ।