नेपालमै रोयल इन्फिल्ड उत्पादन गर्ने कम्पनीले एकै वर्ष गर्‍यो पौने ४ अर्बको व्यापार

बेच्यो १२ हजार मोटरसाइकल

392
Shares

काठमाडौं । नेपालमा रोयल इन्फिल्ड ब्रान्डको मोटरसाइकल उत्पादन तथा वितरण गर्ने टीजी अटो ग्रुपले एकै वर्ष पौने ४ अर्ब रुपैयाँको व्यापार गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा ३ अर्ब ७४ करोड ४० लाख रुपैयाँ (अपरिष्कृत)को व्यापार गरेको हो।

कम्पनीले सन् २०२४ मा २ अर्ब ९२ करोड १० लाख रुपैयाँ र सन् २०२३ मा १८ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो ।

त्रिवेणी ग्रुप अफ नेपालद्वारा सञ्चालित कम्पनी सन् २०२२ मा स्थापना भएको हो । कम्पनी नेपालको लागि आधिकारिक उत्पादक तथा वितरक हो ।

कम्पनीले बारामा एक लाख स्क्वायर फिट क्षेत्रफलमा रोयल इन्फिल्ड मोटरसाइकल उत्पादन गर्ने गरी उद्योग स्थापना गरेको छ । कम्पनीले वार्षिक २० हजार मोटरसाइकल उत्पादन गर्न सक्ने क्षमतासहित उद्योग स्थापना गरेको हो ।

कम्पनीले सन् २०२३ को मेबाट व्यवसायिक कारोबार सुरु गरेको थियो । स्थापना भएको ३ वर्षमा नै कम्पनीले उच्च व्यापार गरेको पाइएको छ । सरकारले स्वदेशमा नै सवारी साधन उत्पादनका लागि प्रोत्साहन गरेसँगै धेरै कम्पनीहरुले एसेम्बल प्लान्टमा लगानी गरेका छन् ।

मोटरसाइकल सेग्मेन्टमा नेपालमा रोयल इन्फिल्ड ब्रान्ड प्रिमियम मानिन्छ । त्यसैले कम्पनीले बजारको मागअनुसार उद्योग स्थापना गरी नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ ।

वीरेद्रकुमार संघाई अध्यक्ष रहेको कम्पनीले गत आर्थिक वर्षमा ११ हजार ८ सय ८३ वटा मोटरसाइकल बिक्री गरेको छ । सन् २०२४ मा १० हजार ८५ वटा मोटरसाइकल बिक्री गरेको थियो ।

कम्पनीअनुसार गत आवमा बजारमा मोटरसाइकलको उच्च माग हुँदा व्यापार बढेको जनाएको छ । कम्पनीले गत आवमा १७ करोड २० लाख रुपैयाँ खुद नाफा र १९ करोड ७० लाख रुपैयाँ क्यास नाफा भएको उल्लेख छ । सन् २०२४ मा खुद नाफा लेभल १४ करोड ७० लाख रुपैयाँ र क्यास नाफा १५ करोड ४० लाख रुपैयाँ रहेको उल्लेख गरेको छ ।

नेपालमा रोयल इन्फिल्ड ब्रान्डको आधिकारिक विक्रेता रहेको कम्पनीको सहायक कम्पनी अल्फा अटोमोटिभ नेपालले सिधै उपत्यकाको आफ्नै शोरुमबाट व्यापार गर्दै आएको छ ।

कम्पनीले अल्पकालीन कर्जाका लागि ७० करोड रुपैयाँको रेटिङ गराएको छ ।