तुइन खोलामा फेरी खस्यो पहिरो : दुईतर्फी अवागमन बन्द, विभिन्न छ ठाउँमा राजमार्ग अवरुद्ध

1.7k
Shares

काठमाडौं । मुग्लिङ नारायणगढ सडकको तुइन खोला पुल नजिकै सोमबार बिहान फेरी पहिरो खसेको छ ।

केहिदिन अघि खसेकै स्थानमा फेरी सोमबार बिहान ११.२५ बजे पहिरो खसेको हो । सडक विभागको प्राविधिक टोली उक्त स्थानमा खसेको पहिरो पन्छाउने प्रयास गरिरहेको छ । पन्छाउने प्रयास भइरहँदा पनि त्यहाँ अहिले पनि पहिरो जाने क्रम रोकिएको छैन ।

पहिरो गएपछि अहिले उक्त खण्डमा सवारी साधन रोकिएका छन् । आज बिहानै तुइन खोला नजिक खसेको पहिरो पन्छाएर यातायात सुचारु गरिएको थियो । यातायात सुचारु भएको केहि क्षणमै फेरी पहिरो गएको हो ।

सडक डिभिजन कार्यालय भरतपुरले मुग्लिन नारायणगढ सडक खण्डको तुईन खोला पुल नजिकै पहिरो खसेर आवागमन दुईतर्फि बन्द भएको जनाएको छ ।

पहिरो झर्ने क्रम जारी नै भएकोले पहिरो झर्न रोकिएपछि मात्र डिभिजनबाट तैनाथ अवस्थामा रहेको उपकरणको माध्यमबाट तत्काल पहिरो हटाउने कार्य सुचारू हुनेछ ।

पहिरो अवधीभर रोकिएका सवारीसाधनहरू लेन अनुशासनको पालना गर्न कार्यालयले आग्रह गरेको छ ।

यस्तै अविरल वर्षा, बाढीपहिरोका कारण देशका विभिन्न छ ठाउँमा आज पनि राजमार्ग बन्द रहेका छन् ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले सङ्खुवासभा, सिन्धुपाल्चोक र रसुवा जिल्लाका छ ठाउँमा राजमार्ग अवरुद्ध रहेका जानकारी दिए ।

उनका अनुसार अहिले बिहान ९ बजेसम्मको विवरणअनुसार अविरल वर्षाका कारण सङ्खुवासभाको भोटखोला गाएँपालिका-४ बरुणमा कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।

सोही जिल्लाको मकालु गाउँपालिका- ३ एकुवामा अविरल वर्षाका कारण कोशी राजमार्ग अवरुद्ध भएको उनले बताए । यो सडक विगत लामो समयदेखि अवरुद्ध रहेको छ ।

रसुवाको गोसाइँकुण्ड नगरपालिका-२ मा बाढीका कारण अवरुद्ध सडक खुल्न सकेको छैन । सडक अवरुद्ध हुँदा नेपाल-चीन जोड्ने नाका सञ्चालनमा आउन सकिरहेको छैन ।

आज रसुवाको गोसाइँकुण्ड नगरपालिका-२ तातोपानीमा पनि पहिरोले पासाङल्हामु सडकखण्ड अवरुद्ध भएको छ । पहिरो पन्छ्याउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।

सिन्धुपाल्चोकको सुनकोशी गाउँपािलका-७ एककिलोमा आइतबारदेखि परेको वर्षसँगै आएको पहिरोका कारण अरनिको राजमार्ग अवरुद्ध भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता घिमिरेले जानकारी दिए ।

उनका अनुसार सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२ बाह्रकिलोमा आज खसेको पहिरोका कारण अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।