पहिरो पन्छाएपछि ५६ घण्टापछि मुग्लिन-नारायणगढ सडक दुईतर्फी सञ्चालन

126
Shares

काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिकामा – ५ मा पर्ने तुइन खोलाको पुल नजिकै खसेको पहिरो पन्छाइएपछि ५६ घण्टापछि उक्त सडक बिहिबार राति १०.३५ बजेदेखि दुईतर्फी रुपमा सञ्चालनमा आएको छ ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार मंगलबार साँझ ४.५० बजे उक्त स्थानमा अहिलेसम्मकै सबैभन्दा ठूलो पहिरो खसेको थियो । बिहिबार साँझदेखि उक्त खण्डमा फ्ल्ड लाइट समेत जडान गरी रातिसम्म पहिरो पन्छाउने काम भएको थियो ।

राति १०.२३ सम्ममा पहिरो पन्छाउने काम सम्पन्न भएपछि १०.३५ बजेदेखि दुईतर्फी रुपमा सडक सञ्चालन गर्न खुल्ला गरिएको हो । पहिरो पन्छाउने काम बुधबार बिहानबाट मात्र थालिएको थियो ।

यसबीचमा १६० मिटर लामो पहिरो पन्छाउन ५ वटा बढी डोजर प्रयोग गरिएको थियो । यो सडकखण्डमा भएको निरन्तरको अवरोधले यात्रुहरू समस्यामा पर्दै आएका छन् ।

सडकमा सवारी साधनहरूको लामो जाम लागेकाले सहज रूपमा यात्रा गर्न भने केही समय लाग्ने छ ।

काठमाडौं जोड्ने मुख्य लाइफलाइनका रूपमा रहेको यो राजमार्ग पहिरोका कारण अवरुद्ध हुँदा यात्रुले निकै सास्ती बेहोरे । अझ नेपालीहरूको महान चाड दशैंका बेला सडक अवरुद्ध हुँदा गन्तब्यतर्फ प्रस्थान गरेका यात्रु सडकमै अलपत्र भए ।

तर, अब पुन: पहिरो नखसे आवागमन सहज हुनेछ । तुइन खोला नजिक यसअघि पनि पटकपटक पहिरो खसेर राजमार्ग अवरुद्ध हुँदै आएको थियो ।