नेताका घरमा जलेका पैसाबारे छानबिन सुरु भइसक्यो: प्रधानमन्त्री

427
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा नेताहरूको घरभित्र भेटिएका ठूलो परिमाणका नगदबारे छानबिन सुरु भएको जानकारी दिएकी छन्।

बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले आन्दोलनकै बीच घर तोडफोड र आगजनी हुँदा अस्वाभाविक तरिकाले फेला परेका नगद रकमप्रति सरकार गम्भीर बनेको बताइन्।

‘प्रदर्शनका क्रममा नेताका निजी आवासमा देखिएका ठूलो परिमाणका नगद रकमबारे सम्बन्धित निकायमार्फत छानबिनको प्रक्रिया सुरु भइसकेको छ,’ प्रधानमन्त्री कार्कीले स्पष्ट पारिन्।

जेनजी आन्दोलनका दिन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र तत्कालीन ऊर्जामन्त्री दीपक खड्कालगायतका घरमा जलेका नोट भेटिएका दृश्य सामाजिक सञ्जालमा सार्वजनिक भएका थिए।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले ती नोटहरू संकलन गरी औपचारिक अनुसन्धान अघि बढाएको जनाएको छ।