दशैंको उडान चापले एयरलाइन्सलाई भ्याइनभ्याइ, त्रिभुवन विमानस्थलबाट ४०० भन्दा बढी उडान

231
Shares

काठमाडौं । दशैंको चापले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडानको चाप बढेको छ । आन्तरिक वायुसेवा कम्पनीका दशैं केन्द्रित उडान बढेको र उडान थप भएका उडानसमेतले गर्दा चाप बढेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने हिजो साँझको १० वटाभन्दा बढी उडान मौसमका कारण हुन नसकेको र त्यसको चाप, आजको नियमति उडान र यही बेला बढेको खचाखच यात्रुका कारण विमानस्थल तथा सम्बन्धित एयरलाइन्सलाई भ्याइनभ्याई छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार हिजो हुन नसकको उडान र आजकै नियमित उडानले गर्दा विमानस्थल यात्रुको चाप बढेको छ । आज विहीबारका लागि आन्तरिक वायुसेवाको मात्रै १६७ वटा उडान तय भएको छ । यस्तो उडान दुईतर्फीसमेत गरेर ३३४ वटा हुने शेर्पाले बताए ।

उनका अनुसार करिब ६० वटा अन्तर्राष्ट्रिय उडान पनि आज बिहीबारकै लागि तय भएकोले ४०० वटाभन्दा बढी उडान गर्नुपर्ने भएकोले व्यवस्थापन मिलाउने सकस भइरहेको छ ।

यस्तो उडान हिजो बुधबारको लागि १३५ वटा मात्रै तय भएको थियो । त्यसमा पनि साँझ परेको हावाहुरीसहितको वर्षाले हुन नसकेको उडानको चाप आजै थपिएको छ । आज विहीबार तय भएको उडान यो सिजनकै धेरै भएको पनि शेर्पाले क्लिकमान्डुलाई जानकारी दिए ।

आजका लागि आन्तरिक वायुसेवाका सबैभन्दा बढी उडान सहरी क्षेत्रका विमानस्थलमा छ । काठमाडौैंबाट बाहिरिने यात्रुको चापका कराण ट्रङ्क रुटमा उडान चाप धेरै छ । काठमाडौैंबाट मुग्लिन हुँदै नारायणगढसम्म जाने बाटो अवरुद्ध भएको चाप पनि आन्तरिक वायुसेवालाई नै परेको छ ।

एकातर्फ दशैंको बेला चाप बढी हुने समय हो भने त्यसमा पनि सडकमार्गभएर यात्र गर्ने यात्रुका कारण थप चाप वायुसेवा कम्पनीमाथि परेको बुद्ध एयरका सञ्चार संयोजक दीपेन्द्र कर्णले बताए ।

आन्तरिक गन्तव्यअन्तर्गत काठमाडौंबाट पोखरा, चितवन, भैरहवा, विराटनगर, भद्रपुर, धनगढी, नेपालगन्ज, सिमरासहितका विमानस्थलमा जाने यात्रुको चाप धेरै छ । यी गन्तव्यमा उडान गर्ने, यती, बुद्ध र श्री एयरलाइन्सका जहाजले नियमित उडान गर्ने गरेका छन् ।