देशभरका ५ राजमार्ग पूर्णरुपमा ठप्प, चाडबाडको समयमा यात्रुलाई सास्ती

308
Shares

काठमाडौं । अबिरल वर्षाका कारण आएको बाढी पहिरोका कारण देशभरका प्रमुख पाँच राजमार्गहरु पूर्ण रुपमा ठप्प भएका छन् । देशभरका प्रमुख राजमार्गहरु चाडवाडको मुखमै ठप्प भएपछि यात्रुहरुलाई एक स्थानबाट अर्को स्थानमा समस्या आएको छ भने अत्यावश्यक वस्तुको ढुवानीसमेत प्रभावित भएको छ । सडक अवरुद्धहुँदा यस्ता राजमार्गहरुमा सयौंको संख्यामा यात्रुसहित सवारी साधन अलपत्र परेका छन् ।

सडक विभागका अनुसार कोशी राजमार्गअन्तर्गत संखुवासभास्थित भोटखोला गाउँपालिका ४ वरुण मकालु गाउँपालिका ३ स्थित एकुवा सडक खण्ड पूर्ण रुपमा ठप्प भएका छन् ।

यस्तै रसुवा जिल्लाको गोसाइकुण्ड गाउँपालिका २, चितवनकोको नारायणगढ–मुग्लिङ सडक खण्डको इच्छाकामना गाउँपालिका ५ स्थित तुइनखोला नजिक पनि सडक पूर्ण रुपमा ठप्प छ ।

तुइनखोला पुल नजिकै मंगलबार अपराह्न ४:५० बजेतिर ठूलो पहिरो जाँदा अहिलेसम्म उक्त बाटो सुचारु हुन सकेको छैन । तुलन खोला नजिक खसेको पहिरो पन्छाउने प्रयास भइरहेपनि छिन छिनमै पर्ने वर्षाका कारण पुनः पहिरो जाने समस्या आइरहेकाले सडक सुचारु गर्न कठिनाई भएको सडक विभागले जनाएको छ ।

मौसमले साथ दियो भने तुइन खोला नजिकको पहिरो पन्छाउन आज पनि भरदिन लाग्न सक्ने विभागका अधिकारीले जानकारी दिएका छन् । यसअघि पनि तुइन खोला पुल नजिक पहिरो गएको थियो । गत आइतबार साँझ साढे ४ बजेतिर पहिरो पन्छाएर ४५ घण्टापछि सुचारु भएको यहि स्थानमा गत मंगलबार पुनः पहिरो खसेको हो ।

यस्तै नागढुङगा–मुग्लिङ सडक खण्डअन्तर्गत घोप्टेभिरमा पहिरो जाँदा बुधबार साँझ ७:३० बजेदेखि राति ११ बजेसम्म सडक अवरुद्ध भएको थियो । पहिरो पन्छाएर त्यहाँ तकतर्फी रुपमा सवारी साधन सञ्चालनमा ल्याइएको छ ।

सोही सडक खण्डको जवाङ भन्ने स्थानमा बुधबार नै पहिरो जाँदा राति ८ बजेदेखि १:३० सम्म सडक अवरुद्ध भएको थियो । पहिरो पन्छाएर त्यहाँ पनि एकतर्फी रुपमा सवारी साधन सञ्चालनमा ल्याइएको छ ।

यस्तै सोही सडक खण्डको चुङ खोला नजिक पहिरो जाँदा राति ११ बजेदेखि २ बजेसम्म अवरुद्ध भएको थियो । त्यहाँ पनि पहिरो पन्छाएर एकतर्फी रुपमा सञ्चालन गरिएको छ । यसैगरी नागढुङगा–मुग्लिङ सडक खण्डअन्तर्गत नै बाघरेभिर नजिक पहिरो जाँदा राति ८ बजेदेखि १ बजेसम्म सडक अवरुद्ध भएको थियो । पहिरो पन्छाएपछि अहिले एकतर्फी रुपमा सञ्चालनमा ल्याइएको सडक विभागले जनाएको छ ।

यसैगरी रोल्पा जिल्लास्थित घोराही रुकुम शहिद राजमार्गअन्तर्गत परिवर्तन गाउँपालिका ६ को लिक्षिवि झरनानजिकै पहिरो गएर पूर्ण रुपमा उक्त सडक खण्ड अवरुद्ध भएका छन् ।