चामलको बिल बनाएर चिनी आयात गर्ने विकृतिको अन्त्य, विराटनगरबाट नयाँ प्रणालीको सुरूवात


विराटनगर । लागू हुँदाकै समयदेखि निजी क्षेत्रले विरोध गर्दै आएको सन्दर्भ मूल्य सूचीलाई विस्थापित गर्दै भन्सार विभागले बुधबारदेखि विराटनगर भन्सार कार्यालयमा पाइलट प्रोजेक्टका रुपमा मूल्यांकन डाटाबेस प्रणाली लागू गरेको छ ।

विभागले यो प्रणाली मुलुकका अन्य प्रमुख भन्सार कार्यालयमा पनि चाँडै लागू गर्ने तयारी गरेको छ ।
अर्थमन्त्री रामेश्वर खनालले मूल्यांकन डाटाबेस प्रणालीको उद्घाटन गर्दै यसले छिटो र सरल ढंगले भन्सार छानबिन गरी वैध व्यापारको सहजीकरण गर्न मद्दत गर्ने विश्वास व्यक्त गरे ।

सरकारले उद्योगी व्यवसायीलाई अझ बढी विश्वास गरेर सन्दर्भ मूल्य सूचीलाई विस्थापित गर्दै मूल्यांकन डाटाबेस प्रणाली व्यवस्था गरेको उल्लेख गर्दै कारोबार मूल्यलाई नै भन्सार मूल्यको मान्यता दिन तथा भन्सार मूल्यांकन निष्पक्ष, पारदर्शी र एकरूप ढंगले निर्धारण हुने खनालको भनाइ छ । यसले उद्योगी व्यवसायीलाई सरकारप्रति उत्तरदायी बनाउने र व्यवसायिक लागत पनि न्यून हुने उनको तर्क छ ।

यो प्रणालीले खराब नियतलाई नियन्त्रण गर्ने छ । अर्थमन्त्री खनालको भनाइ थियो, चिनी ल्याएर चामलको बीजक बुझाउने विकृतिलाई मूल्यांकन डाटाबेस प्रणालीले नियन्त्रण गर्ने छ ।

‘नैतिक आचरणको पालना र भ्रष्ट आचरणको अन्त्य गर्ने जेनजीको माग सार्वजनिक निकायका लागि मात्र होइन, निजी, सामुदायिक र सहकारी क्षेत्रको लागि पनि हो,’ मन्त्री खनालले भनेका छन्, ‘आज विराटनगरमा यो संदेश सशक्त भाषामा निजी क्षेत्रका प्रतिनिधिमुलक निकाय र व्यवसायीलाई दिएको छु ।

भन्सार प्रशासनको इतिहासमा नेपालमा पहिलो पटक स्वयम् घोषणाको आधारमा भन्सार मुल्यांकन र क्लियरेन्स गरिने विद्युतीय प्रणाली विराटनगर नाकाबाट प्रारम्भ गरिएको छ । यसले व्यापारको लागत घटाउने, अवाञ्छित लेनदेन शून्य पार्ने, व्यवसायीलाइ इमान्दार हुन सहयोग गर्ने खनालको भनाई छ । ‘विराटनगर नाकामा लागू भएको यो प्रणाली सफल पार्न व्यवसायीको सहयोग भएमा निकट भविष्यमा यो प्रणाली सबै भन्सारमा लागु हुनेछ,’ उनले भनेका छन्, ‘यो प्रणालीमा राजस्व चुहावट जोखिम नियन्त्रण गर्न विद्युतीय रिस्क इन्जिन सञ्चालन हुनेछ र शंका लागेका कारोबार व्यवसायीको गन्तव्यमै पुगेर छानबिन हुने यसले राजमार्गमा ट्रक रोकेर दुःख दिने काम पनि बन्द हुनेछ ।’

यो प्रणालीले कम वा बढी मूल्य घोषणालाई पत्ता लगाउने, मूल्यांकन जोखिम सहजै पत्ता लगाई भन्सार राजस्व वृद्धि गर्ने र पोस्ट–क्लियरेन्स अडिटलाई सशक्त बनाउने भन्सार विभाग प्रमुख श्यामप्रसाद भण्डारीको भनाइ छ । सन्दर्भ मूल्य सूचीमा उल्लिखित मूल्यभन्दा बीजक मूल्य बढी भएका सन्दर्भ मूल्य सूचीमा उल्लिखित मूल्यमै पैठारी हुने सम्भावना हुँदा सन्दर्भ मूल्य र वास्तविक खरिद मूल्यबीचको अन्तर हुन्डीबाट कारोबार हुने सम्भावना भएकाले सन्दर्भ मूल्य सूची विस्थापन जरुरी भएको भण्डारीले बताए ।

भन्सार विभाग प्रमुख भण्डारीका अनुसार सन्दर्भ मूल्य सूचीमा उल्लिखित मूल्यभन्दा बीजक मूल्य घटेमा जरिवानाबाट बच्नका लागि सन्दर्भ मूल्य सूचीमा उल्लेख भए बमोजिमकै मूल्यमा पैठारी गर्ने परिपाटीले वास्तविक मूल्यभन्दा बढी पूँजी विदेश जाने स्थिति रहेकाले त्यसलाई नियन्त्रण गर्न मूल्यांकन डाटाबेस प्रणाली जरुरी छ ।

यसैबीच मोरङ व्यापार संघमा आयोजित उद्योगी व्यवसायीसँगको छलफलमा अर्थमन्त्री खनालले यो सरकारसँग दीर्घकालीन सुधारको अपेक्षा नगर्न आग्रह गरे । यो सरकारलाई प्रचलित संविधानभन्दा एक इन्च पनि दायाँबायाँ गरेर अगाडि बढ्ने अधिकार नभएको भन्दै उनले चुनावी आचारसंहिता लागू हुनु अघि सम्म आफू निजी क्षेत्रको रिटेनिङ वालको रुपमा काम गर्न तयार रहेको बताए ।

सरकार र राज्य सञ्चालकले मात्र होइन, निजी क्षेत्रले पनि भ्रष्टाचार गरेर सीमित वर्गले मात्र लाभ लिएको भन्दै जेनेरेसन–जेड आन्दोलन भएको खनालको उल्लेख गर्दै खनालले निजी क्षेत्रलाई पनि सुध्रिन आग्रह गरे । उनले सरकार निजी क्षेत्रको सहयोगी बन्न तयार रहेको तर निजी क्षेत्र पनि मुलुक र सरकारप्रति उत्तरदायी हुनुपर्नेमा जोड दिए ।

सँगै रहेका नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाललाई साक्षी राख्दै जेनेरेसन–जेडको आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडबाट क्षतिग्रस्त भएको व्यवसायिक पुनरुत्थानका लागि निजी क्षेत्रले माग गरेका सबै माग सरकारले तत्काल पूरा गरेको मन्त्री खनालले उल्लेख गर्दै निजी क्षेत्रलाई खरानीबाट माथि उठाउन सरकारले व्यवसायिक सबै माग पूरा गरेको बताए । उनले आफू भाषण होइन, काम गरेर देखाउने पक्षमा रहेको बताउँदै नागरिकलाई राहत दिनु आफ्नो पहिलो कर्तव्य भएको बताए ।

महासंघका अध्यक्ष ढकालले पछिल्लो आगजनीबाट ध्वस्त भएको निजी क्षेत्रको पुनरुत्थानका लागि निजी क्षेत्रले गरेका सबै माग पूरा भएको उल्लेख गर्दै सन्दर्भ पुस्तिका विस्थापनले निजी क्षेत्रको पुरानो माग पनि पूरा भएको बताए । उनले मन्त्रीसमक्ष सुरक्षाको प्रत्याभूति गरी लगानीको वातावरण बनाउन आग्रह गरे ।