नख्खु जेलबाट भागेका शिवशिखर सहकारीका अध्यक्ष केदारनाथ शर्मा पक्राउ

448
Shares

काठमाडौं । जेनजी आन्दोलनको मौका छोपेर ललितपुरस्थित नख्खु कारागारबाट भागेका शिवशिखर बहुउद्देश्यीय सहकारीका अध्यक्ष केदारनाथ शर्मा पुनः पक्राउ परेका छन् ।

प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई बुधबार ललितपुरको सानेपाबाट नियन्त्रणमा लिएको हो । पक्राउ परेका शर्मालाई सीआईबीले पुनः नख्खु कारागार बुझाएको छ ।

शर्मालाई यसअघि पनि भारतीय प्रहरीको सहयोगमा २०८० असार १२ गते मुम्बईबाट पक्राउ गरी नेपाल ल्याइएको थियो । सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि कारागार चलान भएका उनी जेनजी आन्दोलनको अव्यवस्थाबीच नख्खु जेलबाट भागेका थिए ।

उनीमाथि बचतकर्ताको १४ अर्ब रुपैयाँभन्दा बढी हिनामिना सम्बन्धी उजुरी परेको छ । सहकारी ठगीका साथै २२ अर्ब रुपैयाँभन्दा बढीको सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा समेत दायर भएको छ ।

शर्माले २०७७ सालमा भक्तपुरमा सञ्चालित शिवशिखर कृषि सहकारी र शिखर दीप बहुउद्देश्यीय सहकारीलाई गाभेर शिवशिखर बहुउद्देश्यीय सहकारी खोलेका थिए । मोरङमा सञ्चालनमा आएको तुलसी सहकारी पनि उनीकै संलग्नतामा स्थापित भएको हो । तर, ती सबै सहकारी संस्थामा आर्थिक अपचलन भएपछि सहकारीहरू संकटमा परेका थिए भने उनी फरार भएका थिए ।