
एजेन्सी । अफगानिस्तानको कुन्तुजका १३ वर्षीय एक बालक काबुल विमानस्थलबाट दिल्ली जाने काम एयरको विमानको पांग्रामा लुकेर भारत पुगेका छन् ।
इरान जाने उद्देश्यले आइतबार बिहान यात्रुहरूको भीडसँगै विमानस्थलमा छिरेका उनी दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा सकुशल अवतरण भएका थिए ।
केन्द्रीय औद्योगिक सुरक्षा बलका अधिकारीका अनुसार उक्त बालकले काम एयरको काबुल–दिल्ली उडान आरक्यू ४४०१ को पछाडिको ल्यान्डिङ गियर कम्पार्टमेन्टमा (रियर ह्विल वेल) लुकेर यात्रा गरेका थिए । विमान बिहान करिब ८:४६ बजे काबुलबाट उडेको र १०:२० बजे दिल्ली अवतरण भएको थियो ।
विमानस्थलका कर्मचारीहरूले सेतो कुर्ता–पाइजामा लगाएका ती बालकलाई ट्याक्सीवे वरिपरि हिँडिरहेको अवस्थामा देखेपछि सुरक्षा निकायलाई खबर गरेका थिए । प्रारम्भिक सोधपुछमा उनले इरान जान खोजेको तर गलत उडानमा चढेर दिल्ली आइपुगेको बताएका छन् ।
विमान अवतरणपछि गरिएको सुरक्षा जाँचमा ल्यान्डिङ गियर क्षेत्रमा सानो रातो रंगको अडियो स्पिकर पनि भेटिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
करिब डेढ घण्टा लामो जोखिमपूर्ण यात्रामा अक्सिजनको कमी, चिसो र शारीरिक क्षतिको सम्भावना हुँदाहुँदै पनि उनी सकुशल थिए । चिकित्सा परीक्षणपछि उनलाई सोही दिन साँझ फेरि काबुल फर्काइएको भारतीय अधिकारीहरूले पुष्टि गरेका छन् ।
यस घटनाले विशेषगरी काबुल विमानस्थलको सुरक्षा व्यवस्थाप्रति प्रश्न खडा गरेको छ ।








प्रतिक्रिया