उद्योग-व्यापार नबढेसम्म युवाले अवसर पाउँदैनन्: उद्योगमन्त्री सिन्हा

434
Shares

काठमाडौं । नवनियुक्त उद्योगमन्त्री अनिलकुमार सिन्हाले उद्योग व्यापार नबढेसम्म युवाहरुले अवसर नपाउने बताएका छन् । राष्ट्रपतिसमक्ष उद्योगमन्त्रीको सपत खाएपछि मन्त्रालय पुगेर पदभार ग्रहण गर्दै मन्त्री सिन्हाले यस्तो बताएका हुन् ।

आन्तरिक अस्थिरता, सुशासनको कमी र अवसरहरूको अभावले वर्तमानमा मुलुक विशेष गरी युवा पुस्तालाई गहिरो रूपमा प्रभावित गरिरहेको अवस्थामा मन्त्री सिनहाले सरकारले युवा तथा न्यायका विषयमा महत्वपूर्ण प्रतिबद्धता जनाएका छन्।

‘हाम्रो युवा पुस्ता जसले भविष्यका सपना बुनेका थिए, अहिले उनीमाथि चुनौतीहरूको थप बोझ प¥यो। तर नैतिक मूल्य र मानवीय सहिष्णुताले आशाको किरण उजागर गरेको छ,’ उनले भने ‘भ्रष्टाचारविरुद्धको आवाज, बेरोजगारी, उद्यमशीलता र राज्यको जवाफदेहिताको मागले मुलुकभर साझा चिन्ताका विषय बनेको छ ।

७० भन्दा बढी सहिदहरूको बलिदानप्रति श्रद्धाञ्जली अर्पण गर्दै, ‘ती अनुहारहरु अझै आँखामा झलझलाउने’ उनले बताए ।

‘म दृढ वाचा गर्दछु कि उनीहरुको बलिदान खाली हुनेछैन, कुनै पनि निर्णय गर्दा त्यो बलिदानले मलाई मार्गदर्शन गर्नेछ,’ उनले भने ।

उनले आफ्ना ३४ वर्षे कानूनी अनुभव, उद्योग–व्यापार, कर तथा वैदेशिक लगानीका क्षेत्रमा काम गरेको यात्रा र सर्वोच्च अदालतमा सेवा गरेको अनुभवका आधारमा भने, ‘जब उद्योग–व्यवसाय बढ्दैन, अर्थतन्त्र संरचनात्मक रूपमा बलियो हुँदैनस र जबसम्म युवालाई अवसर प्राप्त हुँदैन, मुलुकले प्रगति गर्न सक्दैन।’

उनले सहिद परिवार र घाइतेहरूका लागि रोजगारीका अवसर सिर्जना गरिने, निजी क्षेत्रसँग सहकार्य गरी सम्मानजनक जीविकोपार्जन सुनिश्चित गरिनेबताए ।

त्यस्तै, युवाहरूलाई विदेश जान बाध्यता नपरोस् भने। उनीहरूको सीप विकास गरिनेछ र स्वदेशमै अवसर उपलब्ध गराइने वातावरण तयार पारिनेउनको भनाइ थियो ।

अनुमति प्रणाली र कागजी प्रक्रिया सरल, पारदर्शी र डिजिटल बनाउन प्रशासनिक झन्झट र ढिलासुस्ती हटाइने, देश पुनर्निर्माण अवस्थामा भएको कारण, सरकारी कार्यालय र सेवा संरचनाहरू स्थानीय तहसम्म समावेश गरी पुनर्स्थापना गरिने मन्त्री सिन्हाले बताए ।

‘मेड इन नेपाल’ उत्पादनहरू, जस्तै फर्निचर र लत्ताकपडा, जहाँ सम्भव हो त्यही सामग्रीहरू उपयोग गरिने छ’ उनले भने, ‘यो सरकार एक अन्तरिम सरकार हो, हाम्रो मूल उद्देश्य स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण निर्वाचन हुनु हो।’

कर्पोरेट कानूनका ज्ञाता सिन्हालाई प्रधानमन्त्री सुशीला कार्कीले सर्वोच्च अदालतका पूर्वन्यायाधीश सिन्हालाई उद्योग मन्त्री सिफारिस गरेकी थिइन् ।