मन्त्रालयमै खान्छु, ओछ्यान लगाएर यहीँ सुत्छु: मन्त्री पुन

175
Shares

काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले मन्त्रालयमै बसेर काम गर्ने बताएका छन् ।

सोमबार शपथग्रहणपछि पत्रकारहरूसँग कुरा गर्दै उनले आफू शोभा बढाउन होइन, परिणाममुखी काम गर्न आएको स्पष्ट पारे।

पत्रकारको प्रश्नमा मन्त्री पुनले भने, ‘मन्त्रालयमै किचन बनाइन्छ, यही पकाएर खानेछु, यही ओछ्यान लगाएर सुत्नेछु, यहीँ बसेर काम गर्नेछु । म मन्त्री भएको मात्रले सबै सुधार हुने होइन, म भगवान पनि होइन । तर, मेरो पालोमा केही न केही सुधार गर्ने प्रयास गर्नेछु ।’

उनले मन्त्री बन्नु आकस्मिक परिस्थितिका कारण भएको उल्लेख गर्दै भने, ‘म आफ्नो लयमा किताब बेचिरहेको थिएँ, तर अचानक मन्त्री बन्नुपर्ने भयो ।’

पुनले निर्णयमा विज्ञको सुझावलाई आधार बनाउने बताए । उनले विज्ञान, प्रविधि र अनुसन्धानलाई प्राथमिकतामा राख्ने स्पष्ट पार्दै अहिले शिक्षा र विज्ञान क्षेत्रमा तत्काल लागू गर्ने कुनै विस्तृत योजना भने तयार नभएको बताए ।