जेनजी आन्दोलनको प्रभावसँगै विदेशी पर्यटकले बुकिङ रद्द गरेर पर्ख र हेरको अवस्थामा रहेकोले पनि यतिबेला सिजनको सेवा दिएर भ्याइनभ्याइ हुने हेलिकोप्टरहरु विमानस्थलमै घाम तापेर बसेका छन् । हाल नेपालमा विभिन् ११ कम्पनीका ३८ हेलिकोप्टरले उडान अनुमति लिएको नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्यांकले देखाउँछ ।

काठमाडौं । जेनजी आन्दोलनको मारमा विभिन्न ११ कम्पनीका ३८ हेलिकोप्टर परेका छन् । पर्यटकीय सिजनको मुखैमा भएको जेनजी आन्दोलनले बुकिङ धमाधम रद्द भइरहेका छन् भने नयाँ आउन ढिलो भएको छ ।
नेपालको पर्यटकीय सन्देश पछिल्लो समय सकारात्मक रुपमा प्रभाव हुन नसक्दा पर्यटक आगमन नै कम भएको र त्यसको असर हेलिमा पनि देखिन थालेको हेलिकोप्टर सोसाईटी अफ नेपालका महासचिव योगराज कँडेल शर्माले बताए ।
उनले भने ‘गत वर्षको तुलनामा यतिबेला धामधम सिजन लागिसकेको हुन्थ्यो भने हेलिकोप्टर कम्पनीलाई पनि भ्याइनभ्याई हुने बेला हो । तर यो वर्ष पर्यटकीय सिजन सुरु भइसक्दासमेत अधिकांश कम्पनीका हेलि घाम तापेरै बसेका छन् ।’
सेप्टेम्बरदेखि सुरु हुने पर्यटकीय सिजन अक्टोबर लाग्न लागिसक्दासमेत ठप्प नै छ । हेलिकोप्टर कम्पनीको पछिल्लो समय उसै त बुकिङ कम छ त्यसमा पनि भएका पनि ३० प्रतिशतसम्मले क्यान्सिलेसन आउँदा व्यवसायी थप चिन्तित भएको पनि कँडेल बताउँछन् ।
मनाङ एयरका प्रबन्धक राजु न्यौपाने पनि विगतका वर्ष जस्तो उत्साह यो वर्ष नभएको बताउँछन् । न्याैपानेले भने ‘हेलिकोप्टर कम्पनीले व्यक्तिगत रुपमा व्यापार ल्याउनै नसक्ने अवस्था छ भने एजेन्सीबाट आउने बुकिङ ठप्प भएको छ ।’
पछिल्लो समयको आन्दोलन र त्यसपछि पनि नेपालमा पर्यटक आउन रुची नदेखाएको कारण पर्यटक एजेन्सीकै सम्पर्कमा आएका छैनन् भने एजेन्सीमा नै नआएपछि हेलिकोप्टर कम्पनीले विजनेस नपाउने स्वभाविक भएको तर्क पनि उनको छ ।
वायुसेवा सञ्चालक संघका वरिष्ठ उपाध्यक्ष प्रतापजंग पाण्डेले भने नेपालको पर्यटकीय सन्देश नै नकारात्मक प्रभाव भएकोले यो बेला बुकिङ आउने ढिलो भएको बताए । उनले भने ‘हामीले सकारात्मक सन्देश प्रभाव गर्नुपर्ने बेला भएकोले नकारात्मक विषयलाई धेरै उचाल्न हुँदैन् ।’
पाण्डेले भने ‘पर्यटकीय सिजन लागेको भएपनि गत वर्ष भन्दा ढिलो बुकिङ आउनुलाई मनसुन नसकिएको, विदेशी पर्यटकको नेपाल घुम्ने योजना अहिले नै आँकल गरिहाल्न सकिदैन् ।’ उनले सकारात्मक भएर सोच्न र सोही अनुसार सन्देश प्रभाव गर्न पनि आग्रह गरे ।
नेपाल पर्यटकको लागि सुरक्षित छ भने यहाँको पर्यटकीय गतिविधिमा कुनै पनि असर नगरेको सन्देश दिनुपर्ने भन्दै केही पर्यटकीय संरचनामा भएको असरलाई पनि सामान्यीकरण गर्दै अब थप पर्यटक ल्याउन लाग्नुपर्ने पनि पाण्डेको तर्क छ । नेपालमा भएको पर्यटकीय संरचनामाथिको आक्रमले असर परेका बेला फेरि अरु नकारात्मक गतिविधिबाट उनीहरुलाई हतोत्साहित गर्न नहुने तर्क पनि उनको छ ।
हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि हेलिकोप्टर व्यवसायाई सहजीकरण गर्नुपर्ने तर्क सम्बन्धित व्यवसायीको छ । प्राधिकरणले पहिले विमानस्थलबाट दिने उडान अनुमतिको लागि हाल केन्द्रीय कार्यालय जानै पर्ने, हरेक आकस्मिक उद्दारमा पनि प्राधिकरणको पूर्वस्वीकृति आवश्यक पर्ने र कागजी प्रक्रिया मिलाएर उडानमा जाँदा ढिलो हुने भएकोले विमानस्थलबाटै अनुमति दिन तथा सहजीकरण गर्नुपर्ने तर्क पनि हेलिकोप्टर व्यवसायीले गरेका छन् ।
हेलिकोप्टर कम्पनीले विभिन्न गन्तव्य अनुसार चार्टर भाडा लिन दिने सहमति नेपाल नागरिक उड्डयन प्राधिकरणले दिएको छ । हेलिकोप्टरले लुक्ला जान २८ सय देखि ३ हजार अमेरिकी डलर लिन्छन् ।
कम्पनीहरुले लिने भाडामा फाप्लु जान २९ सय देखि ३१ सय डलरसम्म लाग्ने भने नाम्चे जान ३ हजार देखि ३१ सय डलर लिने गरेका छन् । एभरेष्ट क्षेत्रको लुबुचे जान ३६ सय देखि ३९ सय डलरसम्म लाग्ने गरेको छ भने एभरेष्ट बेसक्याम्पमा जान ७ हजार ३ सय डलर लिने गरेका छन् ।
हाल मकालु बेसक्याम्प जान लाग्ने भाडा ५ हजार डलर लाग्छ । हेलिकोप्टर कम्पनीले लिने यस्तो चार्टर उडानको भाडा गन्तव्य अनुसार फरक छ भने त्यो भाडादर प्राधिकरणे नै स्वीकार गरेकोे भाडादर हो ।
हाल नेपाली कम्पनीसँग ३८ वटा हेलिकोप्टर छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणको रेकर्ड अनुसार त्रिभुवन विमानस्थलमा रात्री बस्न पाउने २४ र बाहिर लैजानुपर्ने २४ गरी कुल ३८ वटा हेलिकोप्टर छन् ।
निजी क्षेत्रसँग भएको यस्ता हेलिमध्ये सिम्रिकको ५, एयर डाइनेष्टिको ४, प्रभुको ६, माउनन्टेन हेलिकोप्टर्सको २, कैशाल हेलिकोप्टरको ३, अल्टिच्युड एयरको २, हेलि एभरेष्टको २ वटा हेलिकोप्टर छ । फिस्टेल एयरको ३, मनाङ यरको २, मुस्ताङ एयरको १ श्री एयरलाइन्ससँग ८ वटा हेलिकोप्टर रहेको पनि प्राधिकरणले उजनाएको छ ।








प्रतिक्रिया