
काठमाडौं । भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका कारण भएको क्षतिको बिमा दाबी २२ अर्ब २५ करोड रुपैयाँ पुगेको छ । नेपाल बिमा प्राधिकरणले सार्वजनिक गरेको असोज ५ गतेसम्मको तथ्यांकअनुसार निर्जीवन बिमा कम्पनीमा कुल २४७८ वटा बिमा दाबी परेको छ ।
भदौ ३१ गतेसम्म २० अर्ब ७० करोड ३८ लाख १४ हजार रुपैयाँको बिमा दाबी परेकामा असोेज ५ सम्म आईपुग्दा कुल २२ अर्ब २५ करोड ६५ लाख रुपैयाँ बराबरको बिमा दाबी परेको हो ।
प्राधिकरणका अनुसार दि ओरियन्टल इन्स्योरेन्स कम्पनीमा ५ अर्ब २२ करोड २९ लाख रुपैयाँ बराबरको बिमा दाबी पर्दा सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा ५ अर्ब ८ करोड २८ लाख, आईजीआई प्रुडेन्सियलमा २ अर्ब ७६ करोड ८४ लाख रुपैयाँ र शिखर इन्स्योरेन्समा २ अर्ब ३९ करोड ३३ लाख रुपैयाँ बराबरको बिमा दाबी परेको छ ।

प्राधिकरणका अनुसार सम्पत्ति बिमामा १८ अर्ब ६१ करोड ८ लाख रुपैयाँ बराबरको ५३८ वटा बिमा दाबी पर्दा मोटर बिमामा २ अर्ब ९५ करोड २६ लाख रुपैयाँ बराबरको १७७८ वटा बिमा दाबी परको छ ।
प्रदेशगत रुपमा बागमती प्रदेशमा सबैभन्दा बढी १७ अर्ब ९७ करोड ७२ लाख रुपैयाँको १३४३ वटा बिमा दाबी परेका छन् ।
कोशी प्रदेशमा १ अर्ब ६५ करोड ५० लाख रुपैयाँ बराबरको ३२२ वटा, मधेशमा ५५ करोड २८ लाख रुपैयाँको २४६ वटा, गण्डकीमा १ अर्ब २९ करोड रुपैयाँ बराबरको १८४ वटा र लुम्बिनीमा ४५ करोड ६९ लाख रुपैयाँ बराबरको २०२ वटा बिमा दाबी परेको छ ।








प्रतिक्रिया