
काठमाडौं । पहिरोका कारण पछिल्लो एक महिनादेखि पूर्णरुपमा अवरुद्ध रहेको अरनिको राजमार्गको ट्र्याक खुलेको छ ।
बाह्रबिसे–कोदारी खण्डको विभिन्न पाँच ठाउँमा खसेको पहिरो हटाएर छिमेकी चीनसँग जोडिएको नेपालको उत्तरी नाकाको ट्र्याक खोलिएको हो ।
तर सवारी साधन अझै सञ्चालनमा आइसकेका छैनन् । सडक डिभिजन कार्यालय चरिकोटका प्रमुख नारायणदत्त भण्डारीले आइतबार सबै पहिरो पन्छाइसकिएकाले सोमबार ग्राभेल गर्ने र त्यसपछि मात्र सवारी साधन सञ्चालनमा ल्याइने बताए ।
उनका अनुसार डाक्लाङ क्षेत्रमा तीन वटा पहिरो, घट्टेखोलामा एउटा र कोदारी खण्डमा एउटा गरी पाँच ठाउँमा पहिरो गएको थियो । पहिरो पन्छाउन सडक डिभिजन कार्यालय चरिकोटले इलेक्ट्रो हाइड्रोको समेत सहयोगमा तीन वटा एस्काभेटर, ३ वटा लोडर, १३ वटा टिपर र ४० जना मजदुर खटाएर पहिरो पन्छाएको हो ।
‘एक महिनादेखि अवरुद्ध बाह्रबिसे–कोदारी सडकखण्डको ट्र्याक आजबाट पूर्णरुपमा खुलेको छ,’ सडक डिभिजन कार्यालय चरिकोटका प्रमुख भण्डारीले भने, भोलिबाट ग्राभेल गरेपछि सवारी साधन सञ्चालनमा ल्याइने छ ।’
सडक डिभिजन कार्यालय चरिकोटले बीचबीचमा खुलाउने प्रयास गरे पनि पानी पर्नासाथ लेदो–ढुंगा मिश्रित पहिरोले गर्दा पछिल्लो समय भदौ ८ गतेदेखि ठप्प भएको थियो । बाटो बन्द हुँदा स्थानीयसँगै चीन–नेपाल व्यापारसमेत प्रभावित भएको थियो ।
सडक खुलाउन पटक–पटक पहिरो पन्छाउनुपर्ने हुँदा पहिरोले लेदो बग्ने र जमिन चर्किएर पहिरो माथिको करिब दुई सय घर धुरी जोखिममा परेका थिए ।







प्रतिक्रिया