निजी क्षेत्रलाई प्रधानमन्त्रीले भनिन्ः मारमा परेका व्यवसायीलाई भन्सार छुट दिन सकिन्छ

378
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निजी क्षेत्रलाई भेट्दै उनीहरुको मनोबल बढाउने प्रयास गरेकी छन् । आइतबार व्यवसायीहरुलाई भेटेर निजी क्षेत्रको समस्या समाधान गर्न लागि परेको बताएकी हुन् ।

जेनजी आन्दोलनपछि भएको लुटपाट, तोडफोड र आगजनीका क्रममा व्यवसायीमाथि पनि आक्रमण भएको थियो ।

प्रधानमन्त्री कार्कीले आइतबार व्यवसायीहरूलाई छलफलका लागि बोलाएकी थिइन् । सो क्रममा उनले प्रक्रिया सरल गर्ने, सुरक्षा दिने र सहज वातावरण बनाउने प्रतिबद्धता गर्दै सबै मिलेर देश बनाउन आह्वान गरेकी थिइन् ।

‘म प्रतिनिधिसभाको निर्वाचन गराउने मुख्य एजेन्डासहित आएकी हुँ । त्यसका लागि सुरक्षा बलियो हुनुपर्छ,’ कार्कीले व्यवसायीहरुलाई भनेकी छन्, ‘चुनाव सफल बनाउन आवश्यक बाधा अड्काउ फुकुवा गर्छु । अरु अध्यादेश ल्याउँदिन ।’

देशमा सुरक्षा बलियो हुनुपर्छ भन्दै उनले सुरक्षा भए पछि निजी क्षेत्रलाई पनि लाभ हुने बताए । प्रधानमन्त्रीलाई उदृत गर्दै सहभागी एक व्यवसायीले भने, ‘व्यवसाय रिभाइभ गर्न खुकुलो व्यवस्था गरिदिनुपर्छ । अधिकारमा भएको कुरा गर्न सरकार तयार छ, त्यो भन्दा धेरै आशा गर्नु हुँदैन ।’

प्रधानमन्त्री कार्कीले पुनरुत्थान प्याकेज घोषणा गर्ने, व्यवसायीलाई भन्सार सहुलियत दिन सकिने वा भन्सार दर घटाउन सकिने कुरा गरेकी थिइन् ।

सो अवसरमा अर्थमन्त्री रामेश्वर खनालले व्यवसायीले दिएको सुझावअनुसार सम्भव भएसम्म सबै काम गर्ने आश्वासन दिएका थिए ।